काठमाडौं । बेरोजगार युवाबाट १० करोडभन्दा बढी ठगी गर्ने एकजना पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान शाखाले ललितपुर कोन्जोमोस गाउँपालिका– १ का लालबहादुर लामालाई मंगलबा पक्राउ गरेको हो । लामाले एसईई स्टार ट्रेनिङ सेन्टर खोलेर युवालाई ५ देखि १५ लाखसम्म ठगी गरेको प्रहरीले जनाएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान शाखाका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार उनले वैदेशिक रोजगारीको विभिन्न देशहरू (लिथोनिया, क्यानडा, सिंगापुर)मा आकर्षक तलबको प्रलोभनमा पारी युवालाई ठगेका छन् ।
लामाले वैदेशिक रोजगारमा पठाउन नसकेको र केहीलाई सिंगापुर पुर्याएर विमानस्थलबाटै नेपाल फर्काएका थिए । त्यसपछि पीडितहरूले वैदेशिक रोजगार विभागमा निवेदन दिएका थिए ।
त्यसपछि फरार भएका लामालाई सोमबार काठमाडौंको शंखमुलबाट पक्राउ गरिएको हो । प्रारम्भिक अनुसन्धानबाट उनले बेरोजगार युवाबाट १० करोड भन्दा बढी रकम उठाएको खुलेको रेग्मीले बताए ।
लामाको निजको ट्रेनिङ सेन्टरबाट ९९७ राहदानी समेत बरामद गरिएको छ । लामालाई अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाइएको छ ।














