काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच असमझदारी बढेको छ । उनीहरूबीच बढेको असमझदारी शनिबार बसेको सत्ता गठबन्धन बैठकमा छरपष्टरूपमा देखिएको छ ।
यतिसम्म की दुई नेताबीच चर्काचर्की बढेर स्थिति असामान्य हुँदा प्रधानमन्त्री प्रचण्डले झाेंक्किदै देउवालाई ‘सरकार आफै चलाउ’ भन्नुपर्ने अवस्था आएको थियो ।

ललितपुरको बालकुमारीमा दुईजनाको ज्यान जानेगरी भएको घटनामा सरकारले फिल्डको कमाण्ड सम्हालेका प्रहरी नायब उपरीक्षक उमेश लम्साल र भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाका पिएसओलाई निलम्बन गर्ने निर्णय गरेको थियो ।
सत्तारुढ दलका शीर्ष नेताको बैठकमा प्रधानमन्त्री प्रचण्डले बालकुमारी घटनामा गम्भीर सुरक्षा लापरबाही भएको र त्यहाँको कमाण्डको जिम्मेवारीमा खटिएका प्रहरी र मन्त्रीका पिएसओलाई कारबाही गरिएको जानकारी गराएका थिए ।
प्रचण्डले जानकारी दिनासाथ देउवा झोंक्किएर प्रहरीको मनोबल खस्कने भन्दै कारबाही गर्न नहुने अडान लिएका थिए । देउवाको अडानपछि प्रचण्डसमेत झोंक्किदा केहीबेर बैठक असामान्यजस्तै बनेको बैठकमा सहभागी एक नेताले दृष्टिलाई बताए ।
प्रचण्डले सरकारको काममा कांग्रेसले पटक–पटक हस्तक्षेप गरेको बताउँदै झोंक्किएका थिए । बालकुमारी घटनामा संलग्नलाई कारबाहीको दायरामा नल्याए सरकारमाथि प्रश्न उठ्ने भन्दै प्रचण्डले देउवालाई कारबाही रोक्ने भए सरकार आफैँ चलाउन भनेका थिए ।
प्रचण्डको यस्तो भनाइपछि देउवा पनि चर्किएपछि परिस्थिति असामान्य बनेपछि उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र कांग्रेस प्रमुख सचेतक रमेश लेखकले बैठकबाट देउवालाई अर्को कोठामा लगेका थिए ।
देउवा र प्रचण्डबीचको यस्तो चर्काचर्की यो सरकार निर्माण भएपछि पहिलो पटक भने होइन । यसअघि सिंहदरबारमा सुनकाण्डबारे छलफल गर्न भएको सर्वदलीय बैठकमा पनि देउवा अस्वाभाविक रुपमा प्रस्तुत भएपछि चर्काचर्की भएको थियो ।
त्यो बेला देउवाले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीलाई गलत बयान गराउन लगाइ नेपाली कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाणलाई प्रमाणबिना थुनेको तर, सुनकाण्डमा माओवादी उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महराको संलग्नता देखिँदासाथ सरकारले छानबिनमा खुट्टा कमाएको बताएका थिए ।
प्रधानमन्त्री प्रचण्डले भने आफूले निष्पक्ष छानबिन गर्न भने पनि महराको कनेक्शन नदेखिएको भन्दै तर्किन खोजेका थिए । उनको त्यो भनाइपछि देउवा झन चर्किएपछि कांग्रेस उपसभापतिसमेत रहेका उपप्रधानमन्त्री खड्काले देउवालाई बैठकभन्दा बाहिर ल्याएर सम्झाउनुपर्ने अवस्था आएको थियो ।
पछिल्लो समय प्रधानमन्त्री प्रचण्ड मन्त्रिपरिषद् हेरफेर गर्ने तयारीमा छन् । देउवा भने तत्काल आफ्नो पार्टीका तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीहरू परिवर्तन गर्ने पक्षमा छैनन् । यसमा पनि दुई नेताको कुरा मिलेको छैन ।
देउवाले पार्टीको महासमिति बैठक र राष्ट्रिय सभा निर्वाचनपछि मात्रै मन्त्रिपरिषद् पुनर्गठन गरौँला भनेर तर्किएका छन् । तर, प्रचण्ड भने मन्त्रीहरूको कार्यसम्पादन सन्तोषजनक नभएको भन्दै तत्काल परिवर्तन गर्नुपर्ने पक्षमा छन् ।
देउवाले पत्नी आरजु राणा देउवाको कुरा सुनेर हरेक काममा भाँजो हालेपछि प्रचण्ड देउवासँग आजित भएका छन् । हरेकजसो काण्डमा सरकारले थालेको कारबाही, प्रहरी सरुवा, बढुवा, राजदूत नियुक्ति, न्यायाधीश नियुक्ति, अन्य नियुक्ति र कर्मचारी बढुवा र सरुवामा समेत देउवा र उनकी पत्नी आरजुले दबाब दिने गरेपछि प्रचण्ड असन्तुष्ट बन्दै गएका छन् ।
प्रचण्डले बैठकमा हरेकजसो काममा देउवाले हस्तक्षेप गरेको भन्दै सरकार, गठबन्धन जे–जे गए पनि जाओस् तर, सरकार मूकदर्शक भएर बस्न नसक्ने भन्दै कड्किएका थिए । यसले अब सरकार र गठबन्धन के हुने भन्ने विषयमा पनि विश्लेषण हुन थालेको छ ।
हरेकजसो ठूला घटना र काण्डहरुको छानबिनमा देउवाको अस्वाभाविक दबाबबाट प्रधानमन्त्री प्रचण्ड आजित बनिसकेको र गठबन्धन कुनै पनि बेला भत्कनसक्नमा सचेत रहन प्रचण्ड र देउवा दुबैले आफू निकटस्थहरूलाई बताउन थालेका छन् ।
यता, कांग्रेसको शनिबार सम्पन्न केन्द्रीय समिति बैठकले पनि प्रचण्ड नेतृत्वको गठबन्धन सरकारले जनतामा विश्वास जगाउन नसकेको निष्कर्ष निकालेपछि धेरै आशंका गर्ने ठाँउ बनेको छ । प्रचण्ड र प्रमुख सत्तारुढ दल कांग्रेसका सभापति देउवाबीच अहिलेकै जस्तो हरेक विषयमा असमझदारी बढ्दै गए गठबन्धनको भविष्यमै प्रश्न उठ्न सक्ने कांग्रेस नेताहरू नै बताउन थालेका छन् ।
कांग्रेसमा इतर समूहका नेता डा. शेखर कोइरालाले प्रचण्ड नेतृत्वको सरकारले जनआकाक्षा पूरा गर्न नसकेकाले आफूहरूले विकल्प खोजिरहेको बताएका छन् । पाँचथरको फिदिममा आयोजित कार्यक्रममा उनले स्पष्ट रुपमै अंकगणित फेरबदलको तयारी आफूहरू लागेको भन्दै केही समयमै नतिजा आउने बताएका थिए ।
कांग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापा पनि सरकार परिवर्तन गर्नुपर्ने भन्दै सार्वजनिक कार्यक्रममा बोलिरहेका छन् । कतिपय संस्थापन पक्षकै नेताहरू पनि वर्तमान सरकार लामो समयसम्म टिकेमा कांग्रेसको अस्तित्व निमिट्यान्न हुने बताउने गरेका छन् ।
संसदमा ८८ सिट भएको कांग्रेसलाई ३२ सिट भएको माओवादीले नचाइरहेको भन्दै आलोचना खेपिरहेका देउवाले त्यो रिस सत्तारुढ दलका शीर्ष नेताको बैठकमा अभिव्यक्त गर्ने गरेका छन् । तर, आफ्नी पत्नी आरजुका कारण अप्रत्यासित निर्णय लिन भने देउवा डराइरहेको कांग्रेसकै नेताहरू बताउँछन् ।














