
काठमाडौं । राष्ट्रिसभाको सिट बाँडफाँडका लागि प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको छ ।
छलफल हिजो (बुधबार) बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा भएको हो । दुई नेताको छलफल पश्चात् प्रधानमन्त्री प्रचण्डले राष्ट्रियसभाको निर्वाचनबारे ओलीसँग छलफल भएको बताए । राष्ट्रियसभामा एमालेलाई पनि समेटेरै लैजान ओलीले आग्रह गरेको उनले स्पष्ट पारे ।
प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले भने, ‘ओलीजीसँगको छलफलमा राष्ट्रियसभा निर्वाचनबारे छलफल भएको हो, ओलीले उक्त सभामा एमालेलाई पनि समेट्नुपर्ने धारणा राख्नुभयो । यद्यपि यसबारे सत्ता गठबन्धन दलहरूसँगको संवाद र आपसी छलफलबिना तत्काल निर्णय लिन सकिँदैन ।’
प्रधानमन्त्री र ओलीको भेटप्रति सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी) असन्तुष्ट बनेको छ । उसले दुई शीर्ष नेताको भेट असाधारण भएको टिप्पणी गरेको छ । गठबन्धनभित्रै राष्ट्रियसभाको सिट बाँडफाँड नमिलेको बेला प्रतिपक्षी एमालेसँग छलफल अगाडि बढाउनु उपयुक्त नभएको भन्दै एकीकृत समाजवादीका प्रवक्ता जग्गनाथ खतिवडाले असन्तुष्टि जनाए ।
खतिवडाले भने, ‘प्रमुख प्रतिपक्षी दल एमाले जस्तो पार्टीले राष्ट्रियसभाको दुई–तीनवटा सिटमा लालच देखाउँलाजस्तो त लाग्दैन । तर, ओलीको निरन्तर बालुवाटार दौडधुपले एकीकृत समाजवादी मात्रै नभएर अन्य सत्ता साझेदार दलका नेताहरू पनि प्रधानमन्त्रीसँग सन्तुष्ट हुनुहुन्न् । बरू सत्तासाझेदार दलरूले आपसी छलफल गरेर सिट बाँडफाँड टुंग्याउनु नै बुद्धिमानी हुन्छ ।’
राष्ट्रियसभा निर्वाचनका लागि प्रधानमन्त्री प्रचण्डले मंगलबारदेखि सत्तासाझेदार दल र प्रतिपक्षी एमालेसँग निरन्तर छलफल गरेका छन् । उनले मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा र पार्टी प्रमुख सचेतक रमेश लेखकसँग छलफल गरेका थिए ।
त्यस्तै उनले बुधबार पनि देउवासँग छलफल गरेका थिए भने बेलुका एमाले अध्यक्ष ओलीसँग छलफल भएको थियो । आज बिहान बालुवाटारमा प्रधानमन्त्रीले सत्तासाझेदार दलहरू कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)सँग छलफल गरेका छन् । राष्ट्रियसभा निर्वाचन, समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल केन्द्रित थियो ।
राष्ट्रियसभाको रिक्त २० सिटमा आसन्न माघ ११ गते निर्वाचन हुँदैछ ।














