काठमाडौं । नेपाल-भारत संयुक्त आयोगको सातौँ बैठक जारी रहेको छ । अहिले काठमाडौं दरबमार्गस्थित होटेल याक एन्ड यतिमा बैठक बसिरहेको छ ।
बैठकमा भारतको तर्फबाट विदेश मन्त्री एस जयशंकर र नेपालको तर्फबाट परराष्ट्र मन्त्री एनपी साउदले नेतृत्व गरिरहेका छन् । बैठकमा ऊर्जा, पर्यटन, नागरिक उड्डयन, क्रस बोर्डर लगायतका विषयमा छलफल चलिरहेको छ ।

आयोगको बैठकमा दुवै देशबिच रहेको वाणिज्य सन्धि पुनरावलोकन तथा संशोधन गर्न सम्बन्धित मन्त्रालयका सहसचिवस्तरीय समिति बनाउने विषयमा छलफल हुने बताइएको छ ।
नेपालले कृषिजन्य उत्पादनमा एक अर्का देशमा कर नलगाउने प्रावधान खारेज गरेर भारतको कृषिजन्य वस्तुको आयातमा कर लगाउन सक्ने प्रस्ताव गरेको बताइएको छ । त्यस्तै, बैठकमा भारतबाट नेपालमा आयात हुने कृषि उत्पादनका वस्तुहरूमा नेपालको तर्फबाट कस्टम ड्युटी लगाउन सक्ने प्रस्तावमा पनि छलफल हुने बताइएको छ ।
नेपाली उत्पादन निर्यातमा भारतले लगाएको कोटा प्रणालीलाई हटाउनुपर्ने प्रस्ताव पनि नेपालले गर्ने स्रोतले दाबी गरेको छ । त्यस्तै, ३० प्रतिशत मूल्य अभिवृद्धि भएका वस्तु मात्रै नेपालले भारतमा निर्यात गर्न पाउने विद्यमान व्यवस्था संशोधन गर्दै त्यसलाई २० प्रतिशत बनाउने प्रस्तावमाथि छलफल हुने बताइएको छ ।
भारतले जुट लगायतका सामग्रीमा लगाउँदै आएको ‘एन्टी डम्पिङ’ ड्युटी हटाउनु पर्ने प्रस्ताव पनि नेपालको तर्फबाट आउने भएको छ । नेपाल र भारतले एक–अर्काका गुणस्तरसम्बन्धी प्रमाणपत्रले मान्यता पाउनुपर्ने प्रस्तावमा पनि छलफल हुने बताइएको छ ।














