Logo
Logo
कांग्रेसमा किचलो

कांग्रेसको इतर समूह ४ माग्ने, देउवा ३ भन्दा दिँदै नदिने



काठमाडौं । सत्तारुढ गठबन्धन दलले राष्ट्रियसभा निर्वाचनको १९ सिट बाँडफाँट गरिसकेका छन् । भागबन्डा हुँदा नेपाली कांग्रेसको भागमा १० सिट परेको छ ।

गठबन्धनबाट सिट पाएको कांग्रेसले आन्तरिक रुपमा समेत भागबन्डा लगाउनु पर्ने भएको छ । कांग्रेसले पाएको १० मध्ये ४ सिट पाउनुपर्ने संस्थापन इतर समूहले माग गरेका छन् ।

कांग्रेसमा नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापाले संस्थापन इतर समूहको नेतृत्व गर्दै आएका छन् । कोइराला र थापाले सभापति शेरबहादुर देउवासँग कम्तीमा ४ सिट पाउनुपर्ने माग राखेका थिए ।

कोइराला र थापाको मागमा सभापति देउवा सकारात्मक नदेखिएपछि इतर समूह अहिले बेग्लै छलफलमा जुटेका छन् । दिउँसो सभापति भेट्न धुम्बाराही पुगेका इतर समूह अहिले विशालनगरमा छलफलमा जुटेका छन् ।

विशालनगरस्थित नेता कोइरालाको सम्पर्क कार्यालयमा जारी इतर समूहको छलफल जसरी पनि ४ सिट लिने पक्षमा देखिएको छ । सभापति देउवाले इतर समूहलाई ३ सिट भन्दा धेरै दिन नसकिने बताएका थिए ।

माघ ११ गते राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सोमबार मनोनयन दर्ताको तालिका रहेको छ । त्यसैले राजनीतिक दलले धमाधम उम्मेदवारको नाम टुंगो लगाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्