Logo
Logo

यी हुन् राष्ट्रियसभा निर्वाचनमा एमालेका १९ उम्मेदवार



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि १९ वटै सिटको उम्मेदवार टुंगो लगाएको छ । महासचिव शंकर पोखरेलले विज्ञप्तिमार्फत उम्मेदवारको नाम सार्वजनिक गरेका छन् ।

एमालेले कोशी प्रदेशमा महिलाबाट सुनसरीका रुक्मिणी चौधरी र अन्यबाट भोजपुरका परशुराम अधिकारीलाई उम्मेदवार बनाएको छ । त्यसैगरी, मधेसबाट महिलातर्फ पर्साका उषादेवी थरुनी र अन्यबाट महोत्तरीका अर्जुनकुमार सिंहलाई उम्मेदवार बनाएको छ ।

बागमतीमा महिलातर्फ दोलखाका रोचकुमारी चौलागाईं, अन्यबाट चितवनका त्रिलोचन निर्मल पौडेल, अल्पसङ्ख्यक तथा अपांगता भएकाबाट काठमाडौंका विवेक देवकोटा र दलिततर्फ धादिङका ध्रुबराज विश्वकर्मा एमालेले उम्मेदवार बनाएको छ ।

गण्डकीबाट महिलातर्फ गोरखाका सम्झना देवकोटा, अन्यतर्फ स्याङ्जाका चक्रबहादुर पराजुली र अल्पसङ्ख्यक तथा अपांगता तर्फबाट मुस्ताङका हेमचन्द्र शेरचन एमालेका उम्मेदवार रहेका छन् । 

लुम्बिनीमा महिलातर्फ दाङका तुलसाकुमारी केसी र अन्यतर्फ पाल्पाका झपेन्द्रबहादु घर्ती एमालेका उम्मेदवार हुन । त्यसै गरी, कर्णालीबाट महिलातर्फ हुम्लाका विमलाकुमारी शाही, अन्यतर्फ मुगुका डिल्लीप्रसाद भट्ट र दलिततर्फ दैलेखका हिक्मत विकलाई एमालेले उम्मेदवार बनाएको छ ।

त्यसै गरी, एमालेले सुदूरपश्चिमबाट महिलातर्फ कैलालीका सावित्रीदेवी घिमिरे, अन्यतर्फ कञ्चनपुरका ईश्वरीप्रसाद खरेल र अल्पसङ्ख्यक तथा अपांगतातर्फ कैलालीका रामचन्द्र जोशीलाई उम्मेदवार बनाएको छ ।

१९ सिटका लागि माघ ११ गने राष्ट्रियसभा निर्वाचन हुँदै छ । उक्त निर्वाचनका लागि सोमबार मनोनयन दर्ता हुँदै छ । सोमबार मनोनयन हुने भएपछि एमालेले आइतबार नै सबै उम्मेदवारको नाम टुंगो लगाएको हो ।

राष्ट्रियसभामा पदावधि समाप्त भएका २० मध्ये एमाले एमालेका १० सदस्य रहेका छन् । गठबन्धनसँग प्रतिस्पर्धा गर्नुपर्ने भएकाले यसपटक एमालेले आफ्नो सिट समेत गुमाउने अवस्था रहेको छ ।

आफ्नो सिट समेत गुम्ने भएपछि एमालेले गठबन्धनसँग सहकार्यको प्रस्ताव राखेको थियो । तर, गठबन्धन दल एमालेको प्रस्तावमा सहमत हुन नसकेपछि एमालेले एक्लैले १९ वटै पदमा उम्मेदवारी दिएको हो ।

प्रतिक्रिया दिनुहोस्