काठमाडाौं । स्वास्थ्य मन्त्रालय र त्यसमातहका सबै स्थानमा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को प्रत्यक्ष प्रभाव परेको छ । स्वस्थ्यमा डब्लुएचओले जे भन्यो त्यही हुन्छ । सो संगठनले आफ्नो अनुकूलतमा काम गराउन भनेर नीतिगत र कर्मचारीतन्त्रमा पनि प्रत्यक्ष–अप्रत्यक्ष प्रभाव पार्ने गरेको छ । यस्तै प्रभावमा पार्न पछिल्लो केही महिनायता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका ३ सय १ कर्मचारीलाई विभिन्न देश भ्रमण गराएको छ ।
विभिन्न कार्यक्रमका नाममा सचिवदेखि मन्त्रालय, विभाग र अन्य तहका कर्मचारीलाई भ्रमण गराएको स्रोतको दाबी छ । १ वैशाख २०८० देखि १५ मंसिर २०८० सम्म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वैदेशिक भ्रमणका लागि १ सय ७८ वटा भ्रमण स्वीकृत भएकामा डब्लुएचओले आयोजना गरेका कार्यक्रममा जाने १ सय १३ वटा भ्रमण परेका थिए ।

दोस्रोमा, युनिसेफका र युएनएफपीए आयोजक भएका १७ देशको भ्रमण स्वीकृत भएको छ । स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार सिधा हेर्दा कर्मचारीलाई विदेश भ्रमण गराउने रकम युएन एजेन्सी वा दातृ निकायको जस्तो देखिए पनि त्यो भ्रमणमा खर्च भएको रकम नेपाल सरकारलाई दिने अनुदानभित्रकै हो ।
उनीहरुको विदेश भ्रमण तथ्यांक कहीँकतै उल्लेख स्रोतका अनुसार विश्व स्वास्थ्य संगठनले विदेश भ्रमण गराएका ३ सय १ जनाको मात्रै खर्च झण्डै ९ करोड रुपैयाँ खर्च भएको छ । वैदेशिक भ्रमणमा एक जना बराबर औसतमा ३ लाख रुपैयाँ खर्च हुने गरेको छ । मन्त्रालयले उपलब्ध गराएको विवरणअनुसार स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतको जेनेभा भ्रमणको मात्र नेपाल सरकारले खर्च व्यहोरेको थियो ।
मन्त्रालय स्रोतका अनुसार जेनेभा गएर आएको मन्त्रीको ट्राभल खर्च मात्र ९ लाख २४ हजार ५ सय ७९ रुपैयाँ ४० पैसा ट्राभल एजेन्सीलाई बुझाइएको छ । ८ महिनामा विदेश गएका अन्य ४ सय ४१ जनाको भने लैजाने आयोजक संस्थाले नै खर्च व्यहोरेको थियो । मन्त्रालयबाट स्वीकत भएका वैदेशिक कार्यक्रममा सबैभन्दा बढी थाइल्याण्डका ३४ वटा, भारतका ३२, स्वीटजरल्याण्डका १८ र इन्डोनेसियाका १२ वटा रहेका छन् ।
त्यसैगरी, श्रीलंका, बंगलादेश, अस्ट्रेलिया, दक्षिण कोरिया, अमेरिकालगायतका देशहरुको पनि कार्यक्रम स्वीकृत गरेको छ । मन्त्री र माथिल्लो तहका कर्मचारीहरुको वैदेशिक भ्रमणको तथ्यांक राखिएको छैन ।
मन्त्रिपरिषदको निर्णयबाटै स्वास्थ्य तथा जनसंख्यामन्त्री बस्नेत स्वीटजरल्याण्ड १ पटक, भारत २ पटक, इजिप्ट १ पटक र युएई १ पटक भ्रमणमा गराइसकेको छ । सो रेकर्ड मन्त्रालयमा राखिएको छैन । उनी पहिलो पटक जेनेभा गएको तथ्यांक मात्र मन्त्रालयसँग छ । जबकि, मन्त्रालयबाटै मन्त्री बस्नेत जेनेभा, भारत र इजिप्ट गएको झण्डै १६ लाख २१ हजार ८ सय ४५ रुपैयाँ ट्राभल एजेन्सीलाई भुक्तानी गरिएको थियो । त्यसबाहेक अन्य खर्च भने कहाँबाट भयो खुलाइएको छैन ।
त्यसो त प्रत्येक भ्रमणमा मन्त्री बस्नेतको सचिवालयका कोही न कोही छुटेका हुँदैनन् । केहीको विवरण मन्त्रालयले राखेतापनि धेरैको भने राखेको छैन । मन्त्रीको सल्लाहकारको रुपमा रहेका विश्वरुप खड्का पटक पटक विदेश भ्रमण गएपनि उनको रेकर्ड कही कतै उल्लेख गरिएको छैन ।
तेस्रो अन्तर्राष्ट्रिय रिह्याविटेसन मिटिङमा अतिरिक्त सचिव डा. संगीता कौशल मिश्रा र खड्का गएपनि उनीहरुको रेकर्ड समेत नभएको मन्त्रालय स्रोतले जनाएको छ । पछिल्लो ८ महिनामा सबैभन्दा बढी दाताको पैसामा विदेश भ्रमण गर्नेहरुमा मन्त्रालय र विभागका उच्च अधिकारीहरु नै रहेका छन् ।
अतिरिक्त सचिवसमेत रहेकी स्वास्थ्य सेवा विभागकी महानिर्देशक डा. संगीता कौशल मिश्रा मन्त्रालयबाट निर्णय नै गराएर ५ पटक विदेश गएकी छन् । उनी ३–५ अप्रिलमा थाइल्याण्ड, २२–२४ मार्च थाइल्याण्ड, २४–२६ अप्रिल इङ्ल्याण्ड, ८–१२ मे भियतनाम र १०–११ जुलाई स्वीटजरल्याण्ड गएको तथ्यांकमा उल्लेख छ । पाँचपटक नै विदेश जानेमा परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमार लाल पनि रहेका छन् । उनी दक्षिण अफ्रिका, नयाँदिल्ली, स्वीटजरल्याण्ड, थाइल्याण्ड र नेदरल्याण्ड गएको उल्लेख छ ।
पछिल्लो ८ महिनामा ४ पटक विदेश जानेहरुमा स्वास्थ्य सचिव डा. रोशन पोखरेल, अतिरिक्त सचिव डा. दिपेन्द्ररमण सिंह, नीति, योजना महाशाखा प्रमुख डा. कृष्ण पौडेल, गुणस्तर मापन महाशाखा प्रमुख डा. मदन उपाध्याय, समन्वय महाशाखा प्रमुख डा. चुमनलाल दास रहेका छन् ।
त्यसैगरी, इडिसिडीका डा. फडिन्द्र बराल र परिवार कल्याण महाशाखाका डा. अभियान गौतम पनि ४÷४ पटक विदेश भ्रमणमा मनोनित भएका छन् । अतिरिक्त सचिवहरु डा. विकास देवकोटा र डा. टंक बाराकोटी ३÷३ पटक र सचिव देवकुमारी गुरागाई २ पटक विदेश गएको स्रोतले जनाएको छ ।














