Logo
Logo

प्रधानमन्त्रीले भने- भारतसँगको सम्झौतालाई लिएर तनाव लिनुपर्ने स्थिति छैन


441
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय दूतावासलाई नेपालमा २० करोड रुपैयाँसम्मका आयोजनामा सिधै खर्च गर्न दिनेगरी भएको सम्झौताको बचाउ गरेका छन् । बुधबार संसद्को कानुन समितिमा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस विषयमा प्रष्टीकरण दिएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले सन् २००३ मा भारतसँग यस्तो सम्झौता भएको भन्दै यसअघिका सबै सरकार यो सम्झौतामा संलग्न रहेको उदाहरण दिए । ‘माननीय सदस्यहरूलाई हेक्का रहोस्, यो अहिले आएर भएको सम्झौता होइन’ उनले भने, ‘२००३ देखिको निरन्तरता हो । अहिलेसम्मका सबै सरकार यसमा संलग्न छन् ।’

प्रधानमन्त्री प्रचण्डले भारतमात्र नभएर अन्य देशहरुले पनि नेपालमा सिधै खर्च गर्ने गरेको दाबीसमेत गरे । उनले अमेरिका, चीन, बेलायत, अष्ट्रेलिया, जापानलगायत देशले विभिन्न तवरबाट नेपालमा खर्च गरिरहेको दावी गरे ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘यही नै विधि नभएपनि अन्य मुलुकले समेत यस्ता आयोजना आफैँ सञ्चालन गर्ने गरेकोतर्फ पनि हामी सबैको ध्यान जान जरुरी छ ।’

भारतसँगको सम्झौतामा एकपक्षीयरुपमा आयोजना र कार्यान्वयनको सुविधा नदिइएको भन्दै उनले बरु अरू देशले यस्तो सुविधा उपभोग गरिरहेको दाबी गरे । ‘यो सम्झौतालाई लिएर धेरै तनाव लिनुपर्ने स्थिति छैन । सबै निर्णय नेपाल सरकारले नै गर्ने हो’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्