Logo
Logo

स्कुल कलेज बन्द गरौं


- दृष्टि न्युज/संवाददाता


दिन दुईगुणा, रात चौगुणा भनेझैँ, कोरोना भाइरस (कोभिड १९)को संक्रमण विश्वभर फैलँदो छ । हाम्रो उत्तरको छिमेकी देश चीनको वुहानबाट फैलिएको कोरोना सिंगापुर, इटाली, फ्रान्स, रसिया, स्पेन, इरान, खाडीका विभिन्न मुलुकलगायत विश्वका ६० देशमा फैलिइसकेको छ । हाम्रो दक्षिणको छिमेकी देश भारतमासमेत कोरोना भाइरसको संक्रमण देखिइसकेको छ । यो बढ्दो जोखिमलाई ध्यान दिँदै विश्व स्वास्थ्य संगठनले कोरोनाको संक्रमणलाई अन्तर्राष्ट्रिय स्वास्थ्य आपत्कालका रूपमा घोषणा नै गरेको छ । त्यति मात्र होइन, मुख्यालय जेनेभामा गत बिहीबार पत्रकार सम्मेलन गर्दै डब्लूएचओका प्रमुख डा. टेडरोस गेब्रिएसुसले नेपालको नामै लिएर कोरोनाको उच्च जोखिममा रहेकाले समयमै सावधानी अपनाउन सचेत गराए । नेपालसँगै भारत, पाकिस्तान, श्रीलंका र अफगानिस्तान कोरोनाको उच्च जोखिममा रहेको उनको भनाइ थियो । डब्लूएचओले यसो भन्दै गर्दा काठमाडौंको टेकुस्थित सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा कोरोना संक्रमणको आशंकामा चारजनालाई भर्ना गरिएको छ । चारमध्ये तीनजना चीनबाट फर्किएका नेपाली हुन् भने एकजना चिनियाँ नागरिक । यति नै बेला तिब्बतको ताक्लाकोटबाट भागेर हिल्सा हुँदै हुम्ला फर्कन लागेका एक नेपाली युवा गम्भीर अवस्थामा फेला परेका छन् । कोरोना संक्रमित भएको आशंकासहित स्वास्थ्यचौकीमा उनको उपचार हुँदैछ । तर, कुनै सावधानी अपनाइएको छैन ।

चीनमा २९ सयभन्दा बढीको ज्यान लिइसकेको, ८० हजारभन्दा बढीलाई संक्रमित बनाइसकेको कोरोनाबाट अहिले विश्वभरका देश कसरी जोगिने भन्ने चिन्तासहित तयारीमा हतारिएका छन् । दक्षिण कोरियामा कोरोना संक्रमितको संख्या तीव्र गतिले बढेको छ । विगत केही दिनयता दैनिक औसतमा पाँच सय नयाँ संक्रमित भेटिएका छन् । कोरियामा मृत्यु हुनेको संख्या १८ पुगिसकेको छ । इरानमा अझ भयाबह अवस्था छ । साढे दुई सयभन्दा बढीको ज्यान गइसकेको छ । त्यसैले इरान, इटाली र दक्षिण कोरियाजस्ता मुलुकले यात्रा प्रतिबन्ध लगाइसकेका छन् । अमेरिकाले त पछिल्ला १४ दिनयता इरान भ्रमणमा रहेका कुनै पनि विदेशी नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाएको छ । उत्तर–पश्चिम वासिंटन राज्यमा कारोनाका कारण एक ५० वर्षीय पुरुषको मृत्यु भएपछि वासिंटनका गभर्नर जे इन्सलीले राज्यमा संकटकाल घोषणा गरेका छन् । तर, नेपाल सरकारलाई आफ्ना भोलि आउन सक्ने महाविपत्तिको आभास नै नभएजसरी किमंकर्तव्यविमुढ बनेको छ । नेपाल पशुपतिनाथकै भर परेजसरी निर्भिक देखिन्छ ।

मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा सदाझैँ सबै उडान कायम छन् । कारोनाको उद्गम चीनसमेत विश्वका कुनै पनि देशबाट नेपाल आउने पर्यटकलाई नेपाल भित्रन रोक लगाइएको छैन । नेपालका स्कुल, क्याम्पस चलिरहेका छन् । राजनीतिक दल र विभिन्न सरकारी गैरसरकारी संघसंस्थाका आयोजनामा सभा, सम्मेलन, गोष्ठी, अन्तरक्रियाजस्ता बढी मानिस जम्मा हुने भीडभाडयुक्त कार्यक्रम सुचारु नै छन् । के यो गम्भीर लापरबाही होइन ? पक्कै पनि हो । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरस विश्वभर फैलिँदै गएकाले जोखिम बढेको भन्दै नेपाल भ्रमण वर्ष २०२० स्थगित गर्ने निर्णय गरेको छ । साथै, सरकारले उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा कोरोना भाइरस रोकथाम उच्चस्तरीय समन्वय समिति गठन गरेको छ । यस्तै, स्वास्थ्य मन्त्रालयले जोखिम बढेको भन्दै ठूला सभा, सम्मेलन र भोजभतेर नगर्न आह्वान गरेको छ ।

यतिबेला चिकित्सकहरू भन्दैछन्, विद्यालय र क्याम्पसहरू सबैभन्दा बढी जोखिममा छन् । किनभने, यी त्यस्ता ठाउँ हुन्, जहाँ दैनिक लाखौँ केटोकेटी भेला भएका हुन्छन् । चीनले कोरोनासँग लड्न सिंगै वुहान सहरलाई ‘लक्ड डाउन’ गरेजस्तो सामथ्र्य हामीसँग छैन । न त हामीसँग अस्पताल, बेड, स्वास्थ्यकर्मीको संख्या नै पर्याप्त छ । प्रत्येक साता नयाँ नयाँ अस्पताल बनाउने सामथ्र्य राख्ने चीनसमेत कोरोनासँग अझै पूर्ण रूपमा मुक्त हुन सकेको छैन भने हामीले कसरी लडौँला ? त्यसैले सरकार तत्काल एउटा निष्कर्षमा पुग्नुपर्दछ, र, विद्यालय र क्याम्पसलाई सबैभन्दा बढी जोखिमको क्षेत्रका रूपमा घोषणा गरी यो आतंकको अन्त्य नहुँदासम्म विदा दिनुपर्दछ । मानवीय क्षतिको भरपाइ कसैगरी सम्भव हुँदैन । केही दिन बन्द हुँदा रोकिएको पढाइ त केही दिन बढी पढाएर वा अन्तिम परीक्षा केही साता पर सारेर भए पनि पूरा गर्न सकिन्छ । यतातर्फ ध्यान नदिने हो भने अकल्पनीय मानवीय क्षति ब्यहोर्नुपर्ने हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस्