डडेल्धुरा । परराष्ट्रमन्त्री एनपी साउदले नेपाल–भारतबीच रहेको सीमा विवादबारे ‘बाउन्ड्री वर्किङ ग्रुप’ले काम गरिरहेको बताएका छन् । शुक्रबार नेपाल प्रेस युनियन डडेल्धुरा शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री साउदले कालापानी, लिम्पियाधुरा, लिपुलेक र सुस्ता बाहेकका सीमामा धेरै सहमति भइसकेको समेत बताए ।
उनले भने, ‘कालापानी, लिम्पियाधुरा, लिपुलेक र सुस्ताबाहेकमा धेरै सहमति भइसकेको छ । यसअघि भएको सीमा नक्साङ्कन र रेखाङ्कनका बेला केही ठाउँ नेपाल पक्षको भारत र भारततिरको नेपालमा आएको छ । यसमा दुवै देशको जोइन्ट बाउन्ड्री वर्किङ ग्रुपले काम गरिरहेको छ ।’

नेपाल सरकार आफ्नो सीमा र देशको स्वामित्व रहने जमिनकाबारे पूर्णरूपमा सजग रहेकोसमेत उनले बताए । सीमा समस्या समाधान गर्न छलफल र कूटनीतिक पहलबाट टुंग्याउने प्रयास भइरहेको बताउँदै उनले भने, ‘भारतलाई १० हजार मेघावाट विद्युत् बिक्री गर्ने, पञ्चेश्वर सुरू गर्ने, जाजरकोट भूकम्पपीडितलाई १० अर्ब बराबरको भारतीय अनुदान ल्याउनेलगायतका हामीबीच सम्झौता भएका छन् । दुवै देशबीचको सम्बन्धलाई अगाडि बढाउनका लागि जयशंकरको नेपाल भ्रमण सार्थक रह्यो ।’
उनले पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको ब्रेक थ्रुको विन्दुमा पुगिसकेको दाबी छन् । पञ्चेश्वर परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) फाइनल गर्ने काम अन्तिम चरणमा पुगेको र केही दिनमै ब्रेक थ्रु हुने उनको भनाइ थियो । पञ्चेश्वर परियोजना बन्नु सुदूरपश्चिमबासीका लागि मात्रै नभई सिंगो नेपालकै लागि फाइदाजनक भएको बताउँदै उनले पञ्चेश्वर परियोजनाले यहाँको रोजगारीमा सहयोग पु¥याउने विश्वास व्यक्त गरे ।














