काठमाडौं । काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा रु नौ कारोड बजेट संशोधन प्रस्ताव गरिएको छ । कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षतामा आज भएको बैठकमा उक्त रकम बराबरको संशोधन प्रस्ताव उपप्रमुख सुनिता डङ्गोलले पेस गरेका हुन् ।

कामपाको १३औँ अधिवेशनबाट स्वीकृत चालु आर्थिक वर्ष २०८०/०८१ को वार्षिक कार्यक्रम तथा बजेट कार्यान्वयनको क्रममा छ । चालु आवमा कामपाको सञ्चित कोषमा आय तथा खर्चका लागि रु २४ अर्ब चार करोड ५४ लाख एक हजार विनियोजन गरिएको थियो ।
विनियोजित रकममध्ये कुनैमा बचत हुने र कुनैमा नपुग हुने देखिएको, केही अत्यावश्यक योजना तथा कार्यक्रमहरुका लागि बजेट विनियोजन गर्नुपर्ने देखिएकाले संशोधन प्रस्ताव गर्नु परेको उपप्रमुख डङ्गोलको भनाइ छ । यसमध्ये यही पुस २६ गतेसम्ममा रु चार अर्ब २७ करोड ४१ लाख ५० हजार खर्च भएको छ बताइएको छ ।
सभामा चालु आवमा गरिएको खर्चका विषयमा जानकारी गराउँदै उपप्रमुख डङ्गोलले भने, ‘अहिलेसम्म विनियोजन गरिएको रकमको १७.७८ प्रतिशत खर्च भएको छ जसमध्ये पूर्वाधार विकासमा ११.६४ प्रतिशत, आर्थिक विकासमा १३.३४ प्रतिशत र सामाजिक विकासमा १८.७९ प्रतिशत खर्च भएको छ ।’
सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ १०.८४ प्रतिशत खर्च भएको छ । चालु आवमा वर्षमा राजश्व आम्दानीतर्फ रु १० अर्ब ८० करोड ७८ लाख २० हजार लक्ष्य निर्धारण गरिएको थियो । त्यसमध्ये आन्तरिक राजश्व असुलीको लक्ष्य रु ६ अर्ब ३९ करोड २० लाख छ । यसमध्ये पुस रु २६ गतेसम्ममा रु चार अर्ब ७६ करोड ३३ लाख १२ हजार ६ सय २४ सङ्कलन भएको छ ।
कामपा प्रवक्ता नवीन मानन्धरले सूचना तथा सञ्चार ऐन २०८० को पहिलो संशोधन, राजश्व समितिका संयोजक नवराज पराजुलीले आर्थिक ऐन २०८० को संशोधन विधेयक र सुशासन समितिका संयोजक ख्यामराज तिवारीले, जनप्रतिनिधिको सुविधासम्बन्धी ऐन २०७९ को पहिलो संशोधन विधेयक पेस गरेका छन् । यी विधेयक र संशोधन बजेट तथा कार्यक्रमसम्बन्धी माघ ३ गते बस्ने अधिवेशनको दोस्रो बैठकमा छलफल हुनेछ ।














