अर्घाखाँची । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफैँले नेतृत्व गरेको सरकारको कामप्रति सन्तुष्ट हुन नसकेको बताएका छन् । सोमबार अर्घाखाँची पर्यटन विकाससम्बन्धी नेपाल पत्रकार महासंघले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले अर्थतन्त्र सुधारदेखि सुशासनको क्षेत्रमा धेरै काम अगाडि बढाइरहेको बताए ।
‘सरकारले अर्थतन्त्र सुधारदेखि सुशासनको पक्षमा धेरै काम गरिरहेका छन् । तर, राष्ट्रको अपेक्षाअनुसार पूरै सन्तुष्ट छैन’ प्रधानमन्त्री प्रचण्डले भने, ‘यस वर्ष अपेक्षा अनुसार काम गर्न नसकेपनि अर्को बर्ष अझै तीव्र गतिमा काम गर्ने प्रतिबद्धता गरेको छु ।’

उनले आफू हिजोआज १० बजे नै मन्त्रालय पुग्ने गरेको बताउँदै भने, ‘अहिले सबै मन्त्रालयको ब्रिफिङ लिने गरेको छु । उनीहरूलाई कामको तार्गेट दिन्छु त्यो एक महिनाभित्र सकेनन् भने तीनिहरूलाई हेरफेर गर्नेसम्मको प्रतिबद्धता गरेको छु ।’
संघीय निजामती ऐन र प्रहरी समायोजनाको काम आफू नेतृत्वको सरकारले नगरे अरुले गर्न नसक्ने देखेको बताउँदै प्रधानमन्त्रीले भने, ‘प्रदेशहरूलाई बलियो अधिकार दिनको लागि संघीय निजामती ऐनलाई चाँडै पारित गर्छौं । मेरो नेतृत्वमा संघीय निजामती ऐन बनेन र प्रहरी, समायोजन कार्यान्यन भएन भने अरुबाट यो काम हुँदैन ।’














