Logo
Logo

एसपी सरुवामा आसेपासेको चासो



काठमाडौं । गृहमन्त्रालयले डिएसपीबाट एसपीको बढुवा रोकेर जिल्ला प्रमुखको सरुवामा आँखा लगाएको छ । गृहमन्त्रालयका अधिकारीहरूले एसपी सरुवाको तयारी गर्न र त्यसको सूची गृहमा ल्याउन प्रहरी महानीरिक्षक (आइजीपी)लाई निर्देशन दिएका छन् ।

‘गृहमन्त्रीज्यूको आदेश छ एसपी सरुवाको सूची पेश गर्नुहोला’, मन्त्रीको सचिवालयको हवला दिदै गृहमन्त्रालयका एक कर्मचारीले आइजीपीलाई फोन गरेका थिए । नेपाल प्रहरीले डीएसपीबाट एसपी बढुवाका तयारी गरेको भएपनि प्रधानमन्त्रीका पूर्वपिएसओलाई बढुवा गर्नुपर्ने दबाब बढेपछि रोकिएको स्रोतले बताएको छ ।

गृहले एक वर्षमा इन्चार्ज खाली हुने जिल्लाको एसपी सरुवा गर्न लागेको हो । प्रहरी प्रधानकार्यालयले डीएसपीबाट एसपी बढुवा गर्न एक महिनाअघि नै गृहकार्य गरेको भए पनि गृहमन्त्रालय बाधक बनेपछि रोकिएको मन्त्रालय स्रोतले दृष्टिलाई बतायो । १७ भन्दा बढी जिल्लाका एसपीको कार्यकाल १ वर्ष पुगेकाले सरुवा हुन लागेको भए पनि गृहमन्त्रालयमा रहेका मन्त्रीका आफन्तहरूले कसलाई पठाउने मोलमोलाइमा लागेका छन् । खासगरी पूर्वएआइजी विरेन्द्रबाबु श्रेष्ठ लागिपरेका छन् ।

धनकुटा, मोरङ, झापा, सिरहा, महोत्तरी, पर्सा, चितवन, सिन्धुपाल्चोक, धादिङ जिल्लाका एसपीको एक वर्ष अवधि पुगिसकेको छ । त्यस्तै, तनहुँ, रुपन्देही, बागलुङ, स्याङ्जा, पाल्पा, बार्दिया, कञ्चनपुर, पश्चिम नवलपरासीका एसपीको पनि एक वर्ष पुगेको छ ।

पर्सामा यतिबेला कोमल शाह छन । उनको स्थानमा काठमाडौंमा रहेका एसपी कुमोद ढुंगेललाई पठाउने तयारी भएको छ । यस्तै झापामा रहेका दुर्गा रेग्मीको काम चित्त नबुझेको भन्दै उनको स्थानमा ललितपुरबाट नवराज कार्की वा गौतम केसी मध्ये एकलाई पठाउने तयारी भएको छ । तर, झापामा अपराध अनुसन्धान कार्यालयमा कार्यरत मिलन केसीले बाजी मार्ने संभावना रहेको छ । उनको पनि राजनीतिक शक्ति राम्रै भएकाले झापामा केसीले बाजी मार्ने संभावना रहेको स्रोतले बताएको छ ।

डीआईजी सरुवामा यज्ञविनोद पोखरेललाई सबैभन्दा आकर्षक मधेश प्रदेशमा पठाउन सफल भएकी गृहमन्त्री नारायणकाजी श्रेष्ठकी स्वकीय सचिव सुसन कर्माचार्यले खाली हुने जिल्लामा कसलाई पठाउने भनेर लेखाजोखा गरिरहेको स्रोतको दाबी छ । रुपन्देहीको एसपीका लागि दयानिधि ज्ञवाली, चक्रराज जोशी, गौतम केसी, सन्तोष खड्का, रमेश पण्डितको प्रतिस्प्र्धा रहेको छ । पण्डितले शक्तिकेन्द्रबाट दबाब दिए पनि केही महिनाअघि मात्र नुवाकोटको इन्चार्जबाट सरुवा भएकाले उनको संभावना निकै कम छ ।

एसपी बढुवामा एक नम्बरमै परेका गौतम केसी लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायातमन्त्री रोज राणामार्फत् रुपन्देही जाने प्रयासमा छन् । झापामा उनको संभावना कम भएपछि मिलन केसीसँगै झापामा बसुन्धरा खड्काले पनि लविङ गरिरहेकी छिन् ।

चितवनका लागि शालिग्राम शर्मा पौडेल र भावेश रिमालले आ–आफ्नो च्यानल प्रयोग गरिरहेका छन् । पौडेलले चितवनको डीएसपीको रुपमा काम गरिसकेका छन् । मोरङमा बसिसकेका सन्तोष खड्का रुपन्देही नभए काभ्रेको एसपी हुने दाउमा छन् ।

कांंग्रेस नेता डा. शेखर कोइरालालाई भनसुन गरी मोरङमा एसपी भएका र बीचमै तानिएका शान्तिराज कोइराला सिन्धुपाल्चोकको एसपी हुन दौडधुप गरिरहेका छन् । धनकुटाबाट एसपी कृष्ण कोइराला काठमाडौं परिसरमा आउन चाहिरहेका छन् । उनलाई सिआइबी रोज्न भनेपनि आफू सिआइबीमा नबस्ने भन्दै बरु प्रहरी प्रधानकार्यालय बस्ने अन्य स्थानमा नजाने बताइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्