काठमाडौं । गत स्थानीयको निर्वाचनमा काठमाडौं महानगरपालिकामा बालेन साह र धरान उपमहानगरपालिकामा हर्क साम्पाङको जितले देश विदेशमा निकै ठूलो तरङ्ग ल्यायो ।
दुवै मेयर स्वतन्त्र लौरो चिह्नमा चुनाव लडेर स्थानीय सरकारको नेतृत्वमा पुगे । यसले देशमा वर्षौँदेखि रजगज गर्दै आएका मूलधारका भनिने राजनीतिक दलको केही हदसम्म क्रमभंग भयो । स्वतन्त्र उम्मेदवारको जित तुलनात्मक रूपमा थोरै भएपनि प्रतिबिम्बात्मक रूपमा धेरै ठूलो सन्देश दियो ।

स्वतन्त्रप्रति क्रेज देखेपछि रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नै गठन गरे । रास्वपा गत संसदीय निर्वाचनबाट देशको चौथो शक्तिको रुपमा उदायो । पार्टी खोलको छ महिनामै रवि उपप्रधानसहित गृहमन्त्री बने ।
२०७९ पुस १० गते नेकपा माओवादी केन्द्रको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमा रास्वपा एक राज्यमन्त्रीसहित तीन मन्त्रालय लिएर सरकारमा सहभागी भएको थियो । रवि गृहमन्त्री भएपछि धरानका मेयर हर्क साम्पाङले खुसी व्यक्त गरेका थिए ।
रविले गृहमन्त्रालयमा जिम्मेवारी सम्हालेलगत्तै उनले फेसबुकमा लेखेका थिए– ‘रवि लामिछाने गृहमन्त्री बन्नुभएकोमा खुसी लाग्यो है, अब केही तह लाग्छन् होला ।’ त्यसबेला रविले पनि हर्क र बालेनको खुलेरै प्रशंसा गर्थे । हर्कबाट सिक्नुपर्ने बाहेक केही पनि नभएको उनले बताउने गरेका थिए ।
त्यसो त रविले स्वतन्त्र मेयरद्वय बालेन र हर्कलाई आफ्नो पार्टीमा ल्याउने प्रयास समेत गरेका थिए । गत असार सात गते पार्टी स्थापना दिवसको अवसरमा रविले बालेन र हर्कलाई जोड्ने चाहना भएको बताएका थिए ।
आफू पनि हर्कले जस्तै काम गर्ने बताउँदै आएका रविले श्रमदानबाट गत असार चार गते आफ्नो निर्वाचन क्षेत्रमा पानी झार्न सफल भए ।
७.५ किलोमिटर टाढाको खोलाबाट ल्याइएको पानीको उद्घाटनको लागि मेयर हर्कलाई बोलाएका थिए । तर, कार्यव्यस्तता देखाउँदै हर्क रविको पानी उद्घाटन गर्न चितवन गएनन् । त्यसबेलादेखि नै रवि र हर्कको सम्बन्धन चिसिन थालेको थियो ।
पछिल्लो समय त रास्वपामाथि हर्कले बारम्बार प्रहार गर्दै आएका छन् । उपमहानगरपालिकाले लगाएको पार्किङ शुल्कको विरोधमा हस्ताक्षर सङ्कलन गर्न थालेपछि रास्वपाविरुद्ध उनी आक्रामक भएका हुन् ।
तर, पछिल्लो समय धरानका मेयर हर्क साम्पाङ रास्वपाविरुद्ध खनिँदै आएका छन् । उनका पछिल्ला अधिकांश स्ट्याटस रास्वपाविरुद्ध छन् । साथै रास्वपाविरुद्ध आएका समाचार समेत सेयर गरिरहेका छन् । उनले लेखेका छन्– ‘रास्वपाको राष्ट्रिय अर्थ नीति धरानको विकासका लागि लागू गरिएको पार्किङ शुल्क रु। १० को विरोध गर्ने ! कर प्रणालीमा हस्तक्षेप गरेर विकास नीति फेल गराउने !’
उनले आफूले विकासको निम्ति १० कर उठाएको र रास्वपाको आर्थिक नीति कस्तो भन्दै प्रश्न पनि गरेको छन् । उनले लेखेका छन्– रास्वपाको एजेन्डा रु १०– कस्तो लाग्यो हौ ? विकासको निम्ति लिएको रु १० साह्रै ठूलो कर लायो भन्छ त ! विकासको लागि अर्थ नीति के रैछ यो पार्टी को रु बोल्ने होइन काम गर्ने गर है १
हर्क यतिमै रोकिएका छैनन् । रास्वपाको आर्थिक नीति श्रीलङ्काको यात्रामा लैजाने मात्रै होला भन्दै टिप्पणी गरेका छन् । हर्कले लेखेका छन्– ‘ रु १० को एजेन्डा लिएर विकासको विरोध गर्ने पार्टीले विकासको नीति के ले को छ ? श्रीलङ्काको यात्रामा नेपाललाई लैजाने मात्रै त होला ! कि कसो पो ?
हर्कले ‘कहानी १० रुपे ! रास्वपाको कहानी १० रुपे !!’ भन्दै गीतसमेत गाएर भिडिओ राखेका छन् ।
आफूले लगाएको पार्किङ शुल्कविरुद्ध रास्वपाले विरोध जनाउँदै हस्ताक्षर सङ्कलन अभियान थालेको छ । ट्राफिक व्यवस्थापनका लागि पार्किङ स्थलहरू निर्धारण नीति तथा कार्यक्रम स्पष्ट नगरी ठेकेदारमार्फत शुल्क सङ्कलन गर्न थालेपछि हर्ककाे चौतर्फी आलोचना भइरहेको छ । उपमहानगरपालिकाले सामाजिक सञ्जालमा सूचना प्रकाशित गरी कात्तिक २४ गते देखि यात्रुवाहक सार्वजनिक सवारी सफारी, ट्याम्पोबाट पार्किङ शुल्क लिन थालेको छ ।
उपमहानगरपालिकाले धरान १६ को लिङथेप एन्ड को कन्स्ट्रक्सनलाई मोटरसाइकल र निजी साना र हल्का सवारी साधनको शुल्क उठाउने र मोरङको प्रिन्स निर्माण सेवालाई यात्रु वाहक सार्वजनिक यातायातका सवारी साधनहरूलाई पार्किङ शुल्क असुलीको ठेक्का दिएको छ ।
ठेक्कापछि धरानमा स्कुटर, मोटरसाइकललाई १० रुपैयाँ, ट्याम्पो, निजी साना, हलुका सवारीलाई २५ रुपैयाँ, सफारीलाई ३० रुपैयाँ, कार, मारुती भ्यानलाई ३५ रुपैयाँ, बास, माइक्रो बस, बेलुरो, स्कारपियोलाई ५० रुपैयाँ शुल्क लिइँदै आएको छ । पार्किङ शुल्क असुल गरेता पनि सुरक्षाको जिम्मा भने असुली गर्ने ठेकेदारले नलिने सूचनामा उल्लेख छ ।
शुल्क दिएर पार्किङ गरी राखेको सवारी साधन हराएमा, चोरी भएमा सम्बन्धित सवारी धनी नै जिम्मेवार हुने सूचनामा आएपछि रास्वपाले विरोध जनाउँदै आएको छ । उसले नगरपालिकाको विरुद्धमा हस्ताक्षर सङ्कलन सुरू गरेको छ । हस्ताक्षर सङ्कलनका क्रममा नगर प्रहरीले केही दिन अघि हस्तक्षेप समेत गरेको थियो ।
हर्क सम्पाङ यसरी केहीविरुद्ध खनिएको पहिलोपटक भने होइन । आफूविरुद्ध उभिने जोकोहीविरुद्ध पनि यसरी नै सामाजिक सञ्जालमार्फत उनी खनिँदै आएका छन् । धरानको मेयरमा निर्वाचित भएको पहिलोपटक काठमाडौं आउँदा काठमाडौं महानगरको फोहोरबारे टिप्पणी गर्दै बालेनमाथि प्रहार गरेका थिए । त्यसको जवाफ दिएपछि बालेनमाथि पनि हर्क यसरी नै खनिएका थिए । तर, अहिले बालेनसँगको सम्बन्ध सुमधुर बनाइसकेका छन् ।