Logo
Logo

बलात्कारमा संलग्न भएको आरोप चार जना पक्राउ


1.5k
Shares

काभ्रेपलाञ्चोक । काभ्रेको पाँचखालमा एक १९ वर्षीया युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा चार जना पक्राउ गरिएको छ । बलात्कारमा संलग्न भएको आरोपमा पक्राउ परेकालाई अनुधन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

काभ्रेको पाँचखाल नगरपालिका–७ शिखरपुरको जंगलमा पुस २७ गते राति स्थानीय १९ वर्षीया युवतीमाथि सामूहिक बलात्कार भएको थियो ।

बलात्कारमा संलग्न भएको आरोपमा उदयपुरको ताप्ली गाउँपालिका ८ घर भइ हाल पाँचखाल नगरपालिका–७ मा बस्दै आएका २८ वर्षीय धिरज हमाल, भोजपुरको षडानन्द गाउँपालिका–८ हाल पाँचखाल बस्दै आएका घनश्याम श्रेष्ठ, धनकुटाको महालक्ष्मी नगरपालिका–४ का १९ वर्षीय अमर बिक र १७ वर्षीय एक किशोर रहेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई जिल्ला अदालत काभ्रेबाट पाँच दिनको म्याद थपेर अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी निरीक्षक धमेन्द्र अकौलियाले बताए ।

उनका अनुसार युवतीमाथि बलात्कार गरेको आरोपमा पक्राउ पर्ने सबै मजदुर हुन् । ती युवती पनि मजदुर नै हुन् । रसुवा माइती भएकी ती युवतीका पति घरमा छैनन् । उनीहरुले पुस २७ गते साँझ पाँचखाल नगरपालिका–७ शिखरपुरस्थित फुटबल ग्राउण्ड नजिकको झाडीमा लगेर ती युवतीलाई सामूहिक बलात्कार गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ । बलात्कारमा परेकी ती युवती विक्षिप्त रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ती युवती साँझ साथीहरुसँगै ‘इभिनिङ वाक’मा निस्किएकी थिइन् । साथीहरु घर फर्किए नि उनी अबेलासम्म घर नफर्केपछि परिवारले खोजी सुरु गरेका थिए ।

आफूलाई बलात्कार गर्नेहरुको पहिचान युवतीले गर्न नसकेपछि प्रहरीले ६० जनाभन्दा बढी पुरुषलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको थियो । त्यसमध्ये बलात्कारमा संलग्न भएको आरोपमा चार जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्