Logo
Logo

भन्सारको ‘सेटिङ’ भत्काउने काम भएको छः महानिर्देशक शोभाकान्त पौडेल


630
Shares

काठमाडौं । भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले विभिन्न भन्सार नाकाबाट हुने अवैध चोरी, निकासी तथा पैठारी रोक्न तस्करहरुको ‘सेटिङ’ भत्काइएको बताए ।

अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा आज विभागले आयोजना गरेको ‘आर्थिक पत्रकारसँग भन्सार प्रक्रिया तथा सुधार’ विषयक अन्तक्र्रिया कार्यक्रममा उनले भन्सार नाकाबाट हुने सबै अवैध गतिविधि रोक्न नसकिए पनि तस्करको जालो भत्काउन विभाग केही हदसम्म सफल भएको दाबी गरे । यद्यपि सुनलगायतका वस्तु अवैधरुपमा भित्रिरहेकामा त्यसलाई पूर्णरुपमा नियन्त्रण गर्न भने नसकिएको उहाँले बताए ।

‘भन्सार कार्यालयमा हुने विभिन्न खालका सेटिङ भत्काउने काम भइरहेको छ, तर तस्करहरु एक कदम अगाडि छन्, उनीहरु हाम्रा कमजोरी हेरेर योजना बनाउँछन्,’ पौडेलले भने । अवैध वस्तु भन्सार छलेर कसरी सजिलै भित्रिन्छन् ? भन्ने सञ्चारकर्मीको प्रश्नमा महानिर्देशक पौडेलले अपर्याप्त जनशक्ति तथा प्राविधिक क्षमताको अभाव, कर्मचारीको मिलेमतो, अन्तर निकाय समन्वय अभावलगायतका समस्या रहेको बताए ।

सबै कर्मचारी राम्रा वा सबै नराम्रा छन् भन्ने पक्षमा आफू नरहेको पनि उहाँले स्पष्ट पार्नुभयो । खुला सीमा अर्को चुनौती रहेको उनको भनाइ छ । भन्सार जाँचपास प्रक्रियालाई सहज बनाउन धातु एक्स–रे मेसिन खरिद आवश्यक रहेको पौडेलले बताए ।
त्यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा निकै कम कर्मचारी रहेको उल्लेख गर्दै उहाँले समग्र निगरानी संयन्त्रमै समस्या रहेको बताए ।

समग्र शासन प्रणाली सुधार भए भन्सार प्रणाली पनि क्रमशः सुधार हुनेमा उहाँको जोड थियो । भन्सारका कामकाजलाई विस्तारै कागजरहित बनाउँदै लगिएको पौडेलको भनाइ छ । पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार सेवा दिन विभाग तयार रहेको उनले बताए । पछिल्लो समय समग्रमा आर्थिक क्रियाकलाप खुम्चिँदा र व्यापार साघुरिँदा भन्सार राजस्व घटेको उहाँको भनाइ छ ।

साताव्यापीरुपमा अन्तर्राष्ट्रिय भन्सार दिवस मनाइँदै
विभागले अन्तर्राष्ट्रिय भन्सार दिवस साताव्यापीरुपमा मनाउने भएको छ । विभागले आज आर्थिक पत्रकारसँग अन्तक्र्रिया गरेको छ । आज नेपाल उद्योग वाणिज्य महासङ्घको आयोजनामा, माघ ९ गते नेपाल समुद्रपार निकासी पैठारी सङ्घको आयोजनामा, माघ १० गते नेपाल चेम्बर अफ कमर्सको आयोजनामा र माघ ११ गते नेपाल उद्योग परिसङ्घको आयोजनामा अन्तक्र्रिया गरिने जनाइएको छ ।

त्यस्तै देशभरका विभिन्न भन्सार कार्यालयले व्यवसायी तथा सरोकारवालासँग अन्तक्र्रिया, खेलकुदलगायत विविध कार्यक्रम, रक्तदानलगायत कार्यक्रम गर्नेछन् । अन्तर्राष्ट्रिय भन्सार दिवस मूल समारोह समितिको आयोजनामा माघ १२ गते विभागमा विशेष कार्यक्रम आयोजना गरिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्