
म्याग्दी । शनिबार बिहान झिसमिसेमै हुकलुङमा पुगेर भैँसीले गहुँ र केरामा पु¥याएको क्षतिको मूल्याङ््कन गरेर फर्किनुभएका धवलागिरि गाउँपालिका–७ ताकमका कटुवाल भक्तवीर विक बिहान १० बजेसम्म उद्योग वाणिज्य सङ्घ धवलागिरि इकाइको तेस्रो अधिवेशनको सूचना प्रवाह गराउन टोलटोलमा पुगेर ‘घोक’ हाल्दै थिए ।
अधिवेशनमा इकाइबाट प्रशंसापत्रसहित सम्मानित हुनुभएका ६८ वर्षीय भक्तवीर अपराह्न विवाहका लागि निम्ताको कार्ड बाँड्न गाउँमा निस्किए । ‘धारापानीका तीन वटा भैँसीले हुकलुङमा आएर २७ घारी केरा र गहुँ खाइदिएको रहेछ । अर्मल (जरिवाना) तोकेर आएको हो’, हत्तारिँदै भक्तवीरले भने, ‘नेत्रलाल मास्टरको छोरीको पर्सी हुन लागेको विवाहकोे निम्ता कार्ड साँझसम्म बाँडिसक्नुपर्छ ।’
छब्बीस वर्षदेखि ताकमका कटुवालको दिनचर्या यसरी नै बितेको छ । गाउँमा हुने भेला, बैठकको सूचना प्रवाह गराउने, गाईबस्तुले खेतीबाली खाएर पु¥याएको क्षतिको मूल्याङ्कन गर्ने र विवाह, व्रतबन्ध, छेवार र किरियाको निम्ता बाँड्ने जिम्मेवारी पूरा गर्न उनी प्रायः व्यस्त हुन्छन् ।
सूचना प्रविधि र सञ्चारमाध्यमको विकास तथा पहुँच भए पनि ताकमका बासिन्दाका लागि भक्तवीर विश्वासिलो सन्देशवाहक बनेको स्थानीयवासी रमाकान्त पौडेलले बताए । ‘कटुवालले घोक हालेर सुनाएको र घरमा आएर भनेको सूचनालाई नै हामीले आधिकारिक मान्ने गरेका छाँै’, उनले भने, ‘सामाजिक सञ्जालमा पनि सूचना आउँछ तर त्यसलाई विश्वास गरिँदैन ।’
विसं २०५४ मा ताकमका जनप्रतिनिधि र अगुवाहरुले भक्तवीरलाई कटुवाल नियुक्त गरेका थिए । ऐतिहासिक तथा धार्मिकस्थल ताकमकोटमा फेटा गुथाएर र अबिरजात्रा गरेर कटुवाल नियुक्त गरिएपछि भक्तवीरले गाउँलेलाई सही सूचना प्रवाह गर्न अन्नपूर्ण र जगन्नाथ देवतासँग कसम खाएको स्मरण गरे । सबै घरमा सुनिने गरेर उनी पाँच वटा अग्ला डाँडामा पुगी चिच्याएर सूचना दिने गर्छन् । चिच्चाउने कामलाई स्थानीय भाषामा ‘घोक’ हाल्ने भनिन्छ ।
जनप्रतिनिधि, कर्मचारी, विद्यालय, वन उपभोक्ता समूह, युवा क्लब, आमासमूह र टोल विकास संस्थासँग समन्वय गरेर सूचना प्रवाह गराउने काम गर्दै आउनुभएका भक्तवीरका लागि तलब तथा अन्य सुविधाको व्यवस्था छैन । ‘साविक ताकम गाविसको चार वटा वडाका ३५५ घरधुरीले एक÷एक पाथीका दरले वैशाखमा गहुँ, मङ्सिरमा धान र असोजमा मकै खलो दिन्छन्’, उनले भने, ‘गाउँलेले दिएको अन्नले मेरो परिवारलाई खान पुगेको छ । मागेर खानुपरेको छैन । आफ्नै पौरखमा परिवार पालेको छु ।’ बालीघरे प्रथामा आधारित पेसा गर्नेलाई ज्यालाबापत दिने अन्नलाई ‘खलो’ भनिन्छ ।
कटुवाल पेसाबाटै भक्तवीरले पाँच छोरीहरुलाई पढाउने र बिहेबारी गरेको बताउनुभयो । हाल घरमा उनीकी श्रीमती बोल्न नसक्ने अपाङ्ग हुनुहुन्छ । आफूभन्दा कमजोर अवस्थाका घरबाट खलो नलिने गरेको भक्तवीरले बताए ।
वडा नं ७ का वडाध्यक्ष अशोक खत्रीले उनी बफादार र इमान्दार भएकाले २६ वर्षसम्म एउटै पेसामा टिकेको बताए । ‘भक्तवीरलाई ताकमका सबैले विश्वास गर्छन् । सबैसँग समान र स्पष्ट व्यवहार गर्नु उहाँको विशेषता हो’, उनले भने, ‘पशुले बालीमा पु¥याएको क्षतिको अर्मल गर्ने जिम्मेवारी पनि भक्तवीरलाई नै दिएका छौँ ।’
गाउँपालिका हुनुअघि तत्कालीन गाविस कार्यालयले उहाँलाई मासिक रु एक हजारका दरले सञ्चार खर्च उपलब्ध गराउँदै आएको थियो । पछिल्लो पटक गाउँपालिकाले सबै कटुवाललाई माइक खरिद गरेर वितरण गरेको थियो । गाउँपालिका भएपछि मासिकरूपमा रु एक हजारका दरले पाउँदै आएको सुविधा काटिएकामा भक्तवीरले गुनासो गरे ।
गाउँका सबैले चिन्ने र सुखदुःखमा सँगै रहन पाएकामा खुसी लागे पनि कामको चाप र दौडधूप गर्नुपर्दा कठिन भएकाले अब यसै वर्षदेखि कटुवालबाट विश्राम लिएर व्यावसायिक सुन्तलाखेती गर्ने योजना बनाएको उनले सुनाए ।