काठमाडौं । राष्ट्रियसभा निर्वाचनमा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच तालमेल गर्ने सहमती भएको छ ।
एमाले र राप्रपाले कोशीमा महिला र अन्यमा उम्मेदवारी दिएका एकअर्का पार्टीका उम्मेदवारलाई सहयोग गर्ने सहमति गरेका हुन् ।

एमालेका उम्मेदवार रूक्मिणी कोइराला र राप्रपा उम्मेदवार उद्धव पौडेललाई साझा उम्मेदवार बनाएर जाने सहमति भएको हो ।
माघ ११ गते कोशी प्रदेशमा राष्ट्रियसभा सदस्यको दुई सिटका लागि निर्वाचन हुँदैछ । कोशीमा एमालेले भोजपुरका परशुराम अधिकारी र सुनसरीका रूक्मिणी कोइरालालाई उम्मेदवार बनाएको थियो । महिलातर्फ उम्मेदवारी नदिएको राप्रपाले अन्यतर्फ उद्धव पौडेललाई उम्मेदवार बनाएको छ ।
कोशीमा सत्ता गठबन्धनका तर्फबाट अन्यमा नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र नेकपा माओवादी केन्द्रबाट चम्पादेवी कार्की उम्मेदवार छन् ।
कोशीमा सत्ता गठबन्धनको मतभार ५४७४ छ भने बाँकी दलको कूल मतभार ४६६१ छ ।














