Logo
Logo
राष्ट्रियसभा निर्वाचन

तालमेलले पनि एमाले-राप्रपाको हार निश्चित !


1.8k
Shares

काठमाडौं । यही ११ गते राष्ट्रियसभा सदस्यको निर्वाचन हुँदैछ । आगामी फागुन २० पछि रिक्त हुने राष्ट्रियसभाका २० मध्ये १९ पदका लागि निर्वाचन हुन लागेको हो । बाँकी एक स्थानमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्नेछन् ।

राष्ट्रियसभा निर्वाचनको लागि सत्ता गठबन्धनले साझा उम्मेदवार उठाएका छन् । त्यस्तै प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि निर्वाचनको लागि उम्मेदवार दर्ता गराएका छन् । तर, छुट्टाछुट्टै उम्मेदवार दर्ता गराएको एमाले र राप्रपाबीच कोशी प्रदेशमा भने तालमेल गर्ने सहमति भएको छ ।

कोशीमा राष्ट्रियसभा सदस्यको दुई सिटका लागि निर्वाचन हुँदैछ । त्यसको लागि एमालेले भोजपुरका परशुराम अधिकारी र सुनसरीका रुक्मिणी कोइरालालाई उम्मेदवार बनाएको थियो ।

महिलातर्फ उम्मेदवारी नदिएको राप्रपाले अन्यतर्फ उद्धव पौडेललाई उम्मेदवार बनाएको छ । राष्ट्रिसभा निर्वाचनको लागि एमालेका उम्मेदवार कोइराला र राप्रपा उम्मेदवार पौडेललाई साझा उम्मेदवार बनाएर जाने सहमति भएको हो ।

गठबन्धनले भने अन्यतर्फ कांग्रेसका कृष्णप्रसाद सिटौला र महिलामा माओवादीका चम्पा कार्कीलाई उम्मेदवार बनाएको छ । कोशीमा एमाले र राप्रपाले तालमेल गरेपनि मतभारको आधारमा सत्ता गठबन्धन नै बलियो देखिन्छ ।

कसको मतभार कति ?
कोशीमा जम्मा मतदाताको संख्या ३६७ रहेको छ । जसमध्ये ९३ जना प्रदेशसभा सदस्य रहेका छन् भने पालिका प्रमुख/उपप्रमुख दुई सय ७४ जना रहेका छन् । प्रदेश सांसद र पालिका प्रमुख/उपप्रमुखको मतभार भने फरक फरक हुन्छ । प्रदेश सांसदको एक जनाको मतभार ५३ हुन्छ भने स्थानीय तहका प्रमुख तथा उपप्रमुखको मतभार १९ रहेको छ ।

यस आधारमा प्रदेशसभा सदस्यको कुल मतभार ४ हजार ९२९ रहेको छ । त्यस्तै पालिका प्रमुख/उपप्रमुखको कुल मतभार ५ हजार २०६ रहेको छ । दुवै गरी कुल मतभार १० हजार १३५ रहेको छ । कोशीमा सत्ता गठबन्धनको जम्मा सांसद ४७ जना रहेका छन् । यता एमाले–राप्रपाको भने ४६ सांसद छन् ।

कोशीमा कांग्रेसको २९, माओवादीको १३, नेकपा एकीकृत समाजवादीको चार र जसपाको एक सांसद छन् । त्यस्तै एमालेको ४० र राप्रपको ६ सांसद रहेका छन् । पालिका प्रमुख/उपप्रमुख पनि सत्ता गठबन्धनकै बढी रहेका छन् । गठबन्धनको १५५ जना पालिका प्रमुख र उपप्रमुख छन् भने एमाले–राप्रपाको ११६ जना मात्रै रहेका छन् । त्यस्तै तीन जना स्वतन्त्र रहेका छन् ।

कांग्रेसको ११३, माओवादीको ३१, एकीकृत नेकपा समाजवादीका सात, जनता समाजवादी चार जना पालिका प्रमुख/उपप्रमुख रहेका छन् । त्यस्तै एमालेको ११२ र राप्रपाको चार जना रहेका छन् । अब मतभारको अवस्था हरौँ । सांसद र स्थानीय तह गरी कांग्रेसको तीन हजार ६८४, माओवादीको एक हजार २७८, एकीकृत समाजवादीको ३४५, जसपाको १२९ मतभार छ । त्यस्तै एमालेको चार हजार २४८, राप्रपाको ३९४ र स्वतन्त्रको ५७ मतभार छ ।

सत्ता गठबन्धन पाँच हजार ४३६ मतभार रहेको छ भने एमाले–राप्रपासँग चार हजार ६४२ मतभार रहेको छ । सत्ता गबन्धनसँग एमाले–राप्रपाको भन्दा ७९४ बढी मतभार रहेको छ । यसरी हेर्दा कोशीमा एमाले र राप्रपाले तालमेल गरेपनि सत्ता गठबन्धनै बलियो देखिन्छ । एमाले र राप्रपाले तालमेल गर्दा पनि सत्ता गठधन्धनकै उम्मेदवारको जित निश्चितजस्तै रहेको छ ।

प्रतिक्रिया दिनुहोस्