Logo
Logo

मधेस सरकारले जंगलराजको अभ्यास गर्दैछ : प्रभु साह 


1k
Shares

राजविराज । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले मधेसी नेताहरूको गद्दारीले मधेस आज उजाड भएको बताएका छन् । 

आजपा सप्तरी जिल्ला कमिटीले आज राजविराजमा आयोजना गरेको बैंकिङ तथा वित्तीय संस्थाको ठगी तथा लुटको विरुद्ध अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले बाहिर पहाडिया जनता प्रति घृणा देखाउने र भित्र पहाडिया नेताको चाकडी गर्ने मधेसी नेताहरूको गद्दारीका कारण मधेस उजाड बन्दै गएको टिप्पणी गरेका हुन् । 

मधेसी दलका केही स्वार्थी नेताहरूले व्यक्तिगत लाभका लागि सामाजिक सम्बन्धलाई अस्वस्थ बनाएको बताउँदै उनले पहाडी शासकहरूसँग मिलेर मधेसको उद्योग व्यापारको आधार र स्रोतलाई समेत ध्वस्त बनाएको बताए । 

मधेस सरकारले जंगलराजको अभ्यास गरिरहेको आरोप लगाउँदै साहले सेवा दिने संस्थाहरू शिक्षा र स्वास्थ्य समेतलाई व्यापार बनाएको बताए । मधेसको पूर्वाधार एवं सम्पदालाई दोहन गर्ने काम भइरहेको उनले बताए । 

अध्यक्ष साहले मधेश सरकार भ्रष्टाचारमा डुबेको बताउँदै विकास आयोजनादेखि हरेक काम कारबाहीमा मधेस सरकार भ्रष्टाचारको हिस्सा बनिरहेको आरोप लगाए ।

उनले बजेटको दुरुपयोग भइरहेकोप्रति सरकारका साथै मधेसमा सक्रिय दलहरूसमेत मौन बस्नुले गम्भीर प्रश्न उत्पन्न भएको बताए । 

व्यक्तिगत लाभको लागि कर्मचारीलाई कुटने, डराउने र निरीह बनाउने कार्य समेत मधेस सरकारले गरिरहेको भन्दै स्वार्थ केन्द्रित कानुन नियम बनाउने कामको उनले विरोध समेत गरे ।

उनले कमिसन लिएर अनुदान दिने, बजेटको खुलेआम बिक्री वितरण गर्ने र नस्ल र जातको आधारमा पक्षपात गर्ने काम भइरहेको भन्दै आलोचना गरे ।

अध्यक्ष साहले अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै बैङ्कहरूको लुटधन्दा विरुद्धको आन्दोलन कडा हुने बताए । बैङ्कहरूले लिने मनोमानी व्याज फिर्ता गर्नुपर्ने बताउँदै सर्वसाधारणलाई ठग्ने ठगहरूलाई नछोड्ने चेतावनी दिए । 

बैङ्कहरूले मनोमानी लिइरहेको व्याज फिर्ता गर्नुपर्ने, लघुवित्त तथा सहकारीबाट लिएको कर्जा फिर्ता हुनुपर्ने र सर्वसाधारण नागरिकले सहजरुपमा कर्जा नपाएसम्म आन्दोलनका विभिन्न कार्यक्रम जारी रहने चेतावनी साहले दिए । 

आजपा मधेस प्रदेश कमिटी र बैंक तथा वित्तीय पीडित सङ्घर्ष समितिले ११ माघमा मधेस बन्दको गर्ने घोषणा गरेको छ । ‘बैङ्कले लिइरहेको मनोमानी ब्याज फिर्ता गर्नुपर्ने, लघुवित्त तथा सहकारीबाट लिएको कर्जा माफी गर्नुपर्ने, आम जनतालाई सहज कर्जा उपलब्ध गराउनु पर्ने’ लगायतका माग गर्दै आजपाले ११ माघमा मधेश बन्द गर्ने घोषणा गरेको हो ।

प्रतिक्रिया दिनुहोस्