
काठमाडौं । महिलाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । नक्कली फेसबुक आइडी बनाएर तस्बिर र भिडिओ प्रशारण गरेको आरोपमा नेपाल प्रहरीको साइबर ब्युरोले एक जनालाई पक्राउ गरेको एसपी पशुपतिकुमार रायले जानकारी दिए ।
पक्राउ पर्नेमा गोरखा भिमसेनथापा गाउँपालिका–२ घर भई काठमाडौंको तारकेश्वर नगरपालिका–४ बस्ने २४ वर्षीय भिमसेन भट्ट छन् । ब्युरोले उनलाई काठमाडौं महानगरपालिका–२७ बाट पक्राउ गरिएको थियो ।
भट्टले ती महिलालाई काम गर्नेक्रममा चिनेका थिए । पछि उनीहरूबीच प्रेम भएर समयसमयमा भेटघाट समेत हुने गरेको थियो । त्यतिबेला खिचिएका तस्बिर र भिडिओको दुरूपयोग गरेको प्रहरीले जनाएको छ । उनीहरू बीचको सम्बन्ध टुटेपछि भट्टले नक्कली आइडी बनाएर फेसबुक तथा ह्वाट्सएपमार्फत चरित्र हत्या गरेको पाइएको हो ।
चरित्र हत्या गरी हैरानी दिएको भन्दै ब्युरोमा उजुरी परेपछि प्रहरीले उनको खोजी थालेको थियो । उनलाई पक्राउ गरी मंगलबार काठमाडौं जिल्ला अदालतमा पेश गरिएको थियो । थप अनुसन्धानका लागि अदालतले भट्टलाई ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ । प्रहरीले विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत थप अनुसन्धान अघि बढाएको छ ।














