काठमाडौं । काठमाडौं महानगर पाकिाले पार्किङ निषेध गरेको भन्दै यूरोड क्षेत्रका व्यवसायी आज पनि आन्दोलित भएका छन् । उनीहरु पसल बन्द गरेर ११ बजेतिरबाटै काठमाडौं महानगरपालिका विरोधमा उत्रिएका हुन् । उनीहरुले पार्किङ निषेध गरिएको भन्दै मंगलबार विरोध गर्दै प्रदर्शन गरेका थिए ।
धर्मपथ, जुद्ध सालिकदेखि इन्द्रचोक तर्फको सडकखण्ड, खिचापोखरी, महाबौद्ध, वीर अस्पताल वरपरको कालोपत्र सडकमा मंगलबारदेखि महानगरले पार्किङ निषेध गरेको छ । न्यूरोड व्यापारिक क्षेत्र मानिन्छ । पाकिङ निषेध गर्दा व्यापार घट्नेमा व्यवसायी सशंकित छन् ।

स्थानीय सामाजिक संघ संस्था, व्यवसायिक संघ संस्था र सरोकारवाला सम्मिलित संघर्ष समिति बनाएर उनीहरुले आन्दोलन गरेका हुन् । महानगरले सरोकारवालासँग परामर्श नगरी पार्किङ निषेधको निर्णय लादेको उनीहरुको आरोप छ ।

पार्किङ हटाउने निर्णयले व्यवसायी, स्थानीय तथा सेवाग्राही अन्यायमा परेको र न्यूरोडको व्यवसायिक भविष्य संकटमा पर्ने उनीहरुको भनाइ छ ।