काठमाडौं । राष्ट्रियसभा सदस्यको लागि भोलि (बिहीबार) निर्वाचन हुँदैछ । आगामी फागुन २० पछि रिक्त हुने राष्ट्रियसभाका २० मध्ये १९ पदका लागि निर्वाचन हुन लागेको हो । बाँकी एक स्थानमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्नेछन् ।
निर्वाचनका मंगलबार बिहान १२ बजेबाट ‘मौन अवधि’ जारी छ । मौन अवधिमा चुनाव प्रसार/प्रसार गर्न र मतदातालाई प्रभावित पार्ने कुनै पनि गतिविधि गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ ।
मौन अवधि मतदान कार्य समाप्त नहुन्जेलसम्म लागू हुनेछ । सो अवधिमा राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, दलको भातृ सङ्गठन तथा आचारसंहिता पालना गर्नुपर्ने अन्य व्यक्ति, संस्था वा निकायले निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न पाउने छैनन् ।
कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने, सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोष्ट वा शेयर गर्न वा गराउन नपाउने आयोगले जनाएको छ ।
तर, कोशी प्रदेशमा भने दलहरूबीच उक्त आचारसंहिता उल्लङ्घन गर्ने होड नै चलेको छ । राष्ट्रियसभा निर्वाचनको लागि उम्मेदवार उठाएका नेपाली कांग्रेस, नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले मौन अवधिको समयमा चियापान गरेका छन् ।
तीन वटै पार्टीले उम्मेदवार र मतदाताहरू बोलाएर भेला गरेको हो । कांग्रेसले नेता शेखर कोइरालाले कोइराला निवास विराटनगरमा उम्मेदवार र मतदाताहरू बोलाएर चियापान कार्यक्रम गरेको हो ।
कांग्रेसको चियापानमा राष्ट्रियसभाको उम्मेदवार कृष्णप्रसाद सिटौला, महिला उम्मेदवार चम्पा कार्कीदेखि प्रदेशको मुख्यमन्त्री केदार कार्की, सांसद प्रतिनिधिसभा सदस्य दीपक खड्का, गगन थापा समेत उपस्थिति रहेको थियो ।
यस्तै, नेकपा एमाले र राप्रपाले उम्मेदवार र मतदाताहरू बोलाएर भेला राखेका छन् । भेलामा एमालेका महासचिव शंकर पोखरेलसहितका नेताहरु सहभागी भएका छन् । राष्ट्रियसभाको निर्वाचनमा कोशीको अन्य कोटामा राप्रपाका उद्धब पौडेल र महिलामा एमालेका रुक्मिणी कोइराला उम्मेदवार छन् ।
कोशी केन्द्रित किन भए दलहरू ?
कोशीमा राष्ट्रियसभा सदस्यको दुई सिटका लागि निर्वाचन हुँदैछ । त्यसको लागि दुई गठबन्धनबीच प्रतिस्पर्धा हुँदैछ । एक सत्ता गठबन्धन । अर्को एमाले–राप्रपा गठबन्धन । निर्वाचनको लागि सत्ता गठबन्धनले साझा उम्मेदवार उठाएको छ भने एमाले–राप्रपाले छुट्टाछुट्टै उम्मेदवार दिइसकेपछि तालमेल गरेको हो ।
एमालेले भोजपुरका परशुराम अधिकारी र सुनसरीका रुक्मिणी कोइरालालाई उम्मेदवार बनाएको थियो । महिलातर्फ उम्मेदवारी नदिएको राप्रपाले अन्यतर्फ उद्धव पौडेललाई उम्मेदवार बनाएको छ । निर्वाचनको लागि एमालेका उम्मेदवार कोइराला र राप्रपा उम्मेदवार पौडेललाई साझा उम्मेदवार बनाउने एमाले–राप्रपाबीच सहमति भएको छ ।
कोशीमा जम्मा मतदाताको संख्या ३६७ रहेको छ । जसमध्ये ९३ जना प्रदेशसभा सदस्य रहेका छन् भने पालिका प्रमुख÷उपप्रमुख दुई सय ७४ जना रहेका छन् । प्रदेश सांसद र पालिका प्रमुख/उपप्रमुखको मतभार भने फरक फरक हुन्छ ।
प्रदेश सांसदको एक जनाको मतभार ५३ हुन्छ भने स्थानीय तहका प्रमुख तथा उपप्रमुखको मतभार १९ रहेको छ ।
कोशीमा प्रदेश संसद्का ४ हजार ९२९ र पालिका प्रमुख÷उपप्रमुखको ५ हजार २०६ गरी कुल मतभार १० हजार १३५ रहेको छ ।
कोशीमा सत्ता गठबन्धनको जम्मा सांसद ४७ जना रहेका छन् । यता एमाले–राप्रपाको भने ४६ सांसद छन् । पालिका प्रमुख÷उपप्रमुख पनि सत्ता गठबन्धनकै बढी रहेका छन् । गठबन्धनको १५५ जना पालिका प्रमुख र उपप्रमुख छन् भने एमाले–राप्रपाको ११६ जना मात्रै रहेका छन् । त्यस्तै तीन जना स्वतन्त्र रहेका छन् ।
सत्ता गठबन्धन पाँच हजार ४३६ मतभार रहेको छ भने एमाले–राप्रपासँग चार हजार ६४२ मतभार रहेको छ । सत्ता गठबन्धनसँग एमाले–राप्रपाको भन्दा ७९४ बढी मतभार रहेको छ । यसरी हेर्दा कोशीमा एमाले र राप्रपाले तालमेल गरेपनि सत्ता गठबन्धनै बलियो देखिन्छ ।
तर, अरु प्रदेशमा भन्दा कोशीमा एमाले–राप्रपा बलियो छ । सबै प्रदेशमा ‘क्लीन स्वीप’ हुने देखिएपछि कोशीमा एमाले–राप्रपाले तालमेल गरेको हो । राष्ट्रियसभा निर्वाचनमा एमालेलाई ‘क्लीन स्वीप’ हुने डर छ भने सत्ता गठबन्धनलाई एक सिट भएपनि गुमाउने डर छ ।
दुई वर्षअघि भएको राष्ट्रियसभा निर्वाचनमा ‘क्लीन स्वीप’ हुनबाट जोगिएको एमाले यो पटक पनि त्यही चाहन्छ । सत्तारुढ गठबन्धनभित्रको असन्तुष्टिलाई क्यास गरेर निर्वाचन जित्ने भन्दै एमाले र राप्रपाका नेताहरूले रणनीति बनाइरेका छन् । कोशीमा सरप्राइज दिने उनीहरूको प्रयास छ ।