हेटौँडा । राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत बागमती प्रदेशमा ४ पदका लागि मतदान जारी छ । यो प्रदेशमा ४ पदका लागि १५ उम्मेदवार चुनावी मैदानमा छन् । प्रमुख ६ राजनीतिक दलका १५ जनाले उम्मेदवारी दिएका हुन् ।
सत्ता गठबन्धनका साझा उम्मेदवार ४ जना छन् भने यसबाहेक तीन दलका ११ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । सत्ता गठबन्धनबाट महिलातर्फ कांग्रेसका विष्णुदेवी पौडेल र अन्यतर्फ जीतजंग बस्नेत उम्मेदवार छन् भने अपाङ्गतातर्फ माओवादीका श्रीकृष्णप्रसाद अधिकारी र दलिततर्फ एकीकृत समाजवादीका घनश्याम रिजाल भिड्दै छन् ।
एमालेले महिलातर्फ रोचकुमारी चौलागाईं, दलिततर्फ ध्रुवराज विक, अपाङ्गतातर्फ त्रिलोचन निर्मल पौडेल र अन्यतर्फ विवेक देवकोटालाई चुनावी मैदानमा खडा गरेको छ ।
यस्तै, राप्रपाबाट बागमती प्रदेशमा अन्यतर्फ हेम्जङम गुरुङ, महिलातर्फ बालिका डल्लाकोटी र अपाङ्गतर्फ भरतमणि भट्टको उम्मेदवारी रहेको छ । नेमकिपाले महिलातर्फ कृष्णलक्ष्मी दुवाल, दलिततर्फ संगिता नेपाली, अपाङ्गतातर्फ हिमालयश्वर मूल र अन्यतर्फ श्रीकृष्ण महर्जन उम्मेदवार बनाएको छ ।
अन्यतर्फ बस्नेत, देवकोटा, गुरुङ महर्जनबिच प्रतिस्पर्धा हुने छ भने महिलातर्फ पुडासैनी, चौलागाईं, डल्लाकोटी र दुवालबिच भिडन्त हुने छ । यस्तै दलिततर्फ रिजाल, विक र नेपालीबिच प्रतिस्पर्धा पक्का भएको हो भने अपाङ्गतर्फ अधिकारी, पौडेल, भट्ट र मूल भिड्ने छन् ।
हेटौडास्थित भुटनदेवी माविको प्राविधिक भवनमा मतदान भइरहेको छ । यो मतदान स्थलमा दुई केन्द्र र आठ बुथ रहेका छन् । बागमतीमा ११० प्रदेश र २४७ स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता रहेका छन् ।