धादिङ । धादिङमा तीन वटा मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । बेनिघाट रोराङ गाउँपालिका–३ मालिंगामा गएराति काठमाडौंबाट चितवन जाँदै गरेको बागमती प्रदेश ०२–००३ प ६२०१, बा ८३ प ८९६० नम्बरको मोटरसाइकलसँग बिपरित दिशाबाट आउँदै गरेको बा ७४ प ८५५९ नम्बरको मोटरसाइकल ठोक्किएका थिए ।
दुर्घटनामा तीनवटै मोटरसाइकलका चालक र पछाडि बसेकाहरू घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी डिएसपी सन्तुलाल जैसवारका अनुसार दुर्घटनामा ६२०१ नम्बरको मोटरसाइकलका चालक काठमाडौंको टोखा नगरपालिका–२ का २८ वर्षीय विजय डंगोल र पछाडि सवार ४६ वर्षीय मिना डंगोल घाइते भएका छन् ।

त्यस्तै, ८९६० नम्बरको मोटरसाइकलका चालक टोखाकै २८ वर्षीय विवेक तामाङ र पछाडि सवार २४ वर्षीया विनिता डंगोल तथा ८५५९ नम्बरको मोटरसाइकलका चालक धादिङको गजुरीका २६ वर्षीय सुदिप खरेल र बेनिघाट रोराङ गाउँपालिका–३ का १५ वर्षीय कर्म प्रजा घाइते भएका छन् ।
खरेलको बिएण्डबी अस्पतालमा र अन्यको राजमार्ग अस्पताल मलेखुमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।














