काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्व शान्तिका लागि द्वन्द्वरत पक्षहरुबीच संवादमा जोड दिएका छन् ।
संयुक्त राष्ट्र संघको निशस्त्रीकरण मामिलासम्बन्धी उच्चस्तरीय प्रतिनिधिमण्डलसँगको भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले नेपालको शान्ति प्रक्रिया उदाहरणीय रहेको बताउँदै विश्व शान्तिका लागि संवाद मात्रै एकमात्र विकल्प भएको बताएका हुन् । साथै उनले नेपाल सदैव विश्व शान्तिको पक्षमा रहेको बताए ।
‘नेपालको ऐतिहासिक शान्ति प्रक्रिया विश्वका मुलुकहरुका लागि उदाहरण बनेको छ,’ उनले भने, ‘अहिले विश्वका कैयन् क्षेत्र अत्यन्तै संवेदनशील अवस्थामा रहेका छन् । रुस–युक्रेन युद्ध, इजरायल–हमास द्वन्द्ध, लगायतका घटनाले विश्व शान्तिमा चुनौती थपेका छन् । तर हामी वार्ता र संवादका माध्यमबाट समाधान खोज्नुपर्नेमा जोड दिन चाहन्छौं ।’
प्रधानमन्त्री प्रचण्डले अगाडि बुद्ध जन्मेको भूमि र शान्तिप्रिय देश नेपालले विश्वमा शान्ति स्थापनाका लािग बिभिन्न अन्तर्राष्ट्रिय मञ्चहरुमा उल्लेख्य भूमिका खेल्दै आएको समेत स्मरण गराए ।
भेटवार्ताका क्रममा प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्र संघको महासभामा अति कम विकसित देशहरुको नेतृत्वकर्ताको हैसियतले खेलेको भूमिकाका बारेमा समेत चर्चा गर्दै शान्ति स्थापनाका लागि संयुक्त राष्ट्र संघका प्रयासहरुमा सदैव साथ दिने र नेपालले विश्व शान्तिका लागि नेतृत्वदायी भूमिका खेल्ने बताए ।
संयुक्त राष्ट्र संघको प्रतिनिधि मण्डलका तर्फबाट बोल्दै इजुमी नाकामित्सुले निशस्त्रीकरण मामिलाको दक्षिण एशियाली केन्द्रको कार्यालय नेपालमा स्थापना गरेको जनाउँदै नेपाल दक्षिण एशियाली क्षेत्रमा शान्ति केन्द्र बन्ने अपेक्षा राखेको जनाइन् ।
‘परमाणु हतियारले सुसज्जित छिमेकीहरुको बीचमा नेपाल शान्ति केन्द्र बन्ने अपेक्षा राखेर केन्द्रको स्थापना गरिएको हो,’ उनले भनिन्, ‘नेपालले विगतमा झैं क्षेत्रीय र वैश्विक शान्तिका पक्षमा आफ्नो भूमिका प्रभावकारी खेल्ने अपेक्षा रहेको छ ।’
सो अवसरमा इजुमीले शान्ति मिसनमा दोश्रो योगदानकर्ता राष्ट्रका रुपमा नेपालले खेलेको भूमिकाको समेत प्रशंसा गरिन् ।