Logo
Logo

विमानस्थलमा कुटपिट घटनाको छानबिन गर्न समिति गठन


3.9k
Shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी र अध्यागमन कार्यालयका कर्मचारीबीच भएको कुटपिट घटनाको छानबिन गर्न समिति गठन भएको छ ।

शुक्रबार दिउँसो अध्यागमन कार्यालयका कर्मचारी र विमानस्थलमा ड्युटीमा खटिएका प्रहरीबीच भनाभन हुँदै कुटाकुटसम्म भएको थियो । उक्त घटनाको छानिबन गर्न गृह मन्त्रालयले सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो ।

समितिमा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक राजेशनाथ बाँस्तोला र अध्यागमन प्रशासन शाखाका उपसचिव कुलबहादुर जिसी सदस्य रहेका छन् ।

समितिलाई शुक्रबारको उक्त घटनाबारे छानबिन गरी तीन दिनभित्र प्रतिवेदन बुझाउन भनिएको गृह मन्त्रालयका उपसचिव तथा सूचना अधिकारी एकदेव अधिकारीले जानकारी दिए । शुक्रबार दिउँसो अध्यागमन अधिकृत छायालाल मोक्तान र विमानस्थल अध्यागमन कार्यालय प्रमुख गोगनबहादुर हमालमाथि प्रहरीले हातपात गरेका थिए ।

अधिकृत मोक्तान ड्युटी सकेर डिपार्चरबाट अराइभल क्षेत्रमा आएका बेला मेटल फ्रि एरियामा प्रहरीले चेकजाँच गरेको थियो । सो क्रममा विवाद भएपछि अधिकृतमाथि प्रहरीले हातपात गरेको थियो । मन्त्रालयका सूचना अधिकारी एकदेव अधिकारीले छानबिनपछि मात्रै विवादको कारण खुल्ने बताए । उक्त घटनको सीसीटिभीको क्लोज क्लिप्स समेत सार्वजनिक भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्