Logo
Logo

कांग्रेससँगको गठबन्धनबारे समीक्षा गछौँ : वर्षमान पुन


1.3k
Shares

रोल्पा । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले कोशी प्रदेशमा राष्ट्रियसभा निर्वाचन परिणामपछि कांग्रेससँगको सहकार्यबारे आफूहरुले गम्भीर समीक्षा गर्नुपर्ने अवस्था आएको बताएका छन् । शनिबार गृहजिल्ला रोल्पामा माओवादी जनप्रतिनिधि र जिल्लाास्तरीय नेताहरुको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता पुनले यस्तो टिप्पणी गरेका हुन् ।

उनले हरेक पटकका निर्वाचनमा आफूहरुले कांग्रेसलाई इमान्दारीतापूर्वक मत दिने गरेको तर कांग्रेसबाट धोका खाने क्रम दोहोरिँदै आएको बताए । नेता पुनले भने, ‘कोशी प्रदेशको राष्ट्रियसभा निर्वाचन परिणामले राष्ट्रिय राजनीतिमा नयाँ मोड आएको छ । कांग्रेससँगको गठबन्धनबारे गम्भीर समीक्षा गर्नुपर्ने अवस्थामा पुगेका छौँ ।’

उनले कांग्रेससँगको गठबन्धनले राजनीतिक रुपमा आफूहरुलाई घाटा या नाफा के छ ? भन्ने समीक्षा गर्ने बताए । ‘हामी हरेक चुनावमा इमान्दार भएर कांग्रेसलाई मत दिइराख्ने अनि कांग्रेसले हाम्रा उम्मेदवार हराइराख्ने कहिलेसम्म चल्छ ?’ उनले प्रश्न गरे ।

राष्ट्रियसभा निर्वाचनअघिका चुनावहरूमा पनि यस्तै हुँदा कांग्रेसले गुटबन्दीलाई कारण देखाउँदै आएको पुनले बताए । नेतृत्व तहमा भएको समझदारीविपरीत एमालेसँगको गठजोडमा केदार कार्कीलाई कोशीको मुख्यमन्त्री बनाएर पनि कांग्रेसले धोका दिएको उनको भनाइ छ ।

नेता पुनले भने, ‘दुई वर्षअघि पनि जसपाको राष्ट्रियसभामा उम्मेदवारलाई हराउने काम कांग्रेसबाट कोशीमै भयो । केदार कार्कीलाई मुख्यमन्त्री बनाउँदा पनि त्यही प्रवृत्ति देखियो । काँग्रसले एकपछि अर्को गर्दै घात गर्ने र हामीभित्र समस्या छ भनेर माफी पाउने अवस्था रहँदैन ।’

नेता पुनले आफूभित्रको अराजकता र अराजनीतिक प्रवृत्तिको समीक्षा गर्न कांग्रेस नेतृत्वसँग माग पनि गरे । कांग्रेसबाट कोशीमा भएको धोकाबारे सत्ता गठबन्धनको बैठकमा छलफल हुने पनि उनले बताए ।

बिहीबार सम्पन्न राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनले कांग्रेस पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र माओवादीकी चम्पादेवी कार्कीलाई उम्मेदवार बनाएको थियो । सिटौला विजयी भएपनि कार्की एमालेकी रुक्मिणी कोइरालासँग पराजित भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्