
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले गणतन्त्रको १५ वर्ष नेपालको राष्ट्रियतालाई कमजोर पार्ने काममा प्रयोग भएको बताएका छन् ।
शनिबार काठमाडौंमा नेपाल प्राज्ञिक परिषद्ले आयोजना गरेको कार्यक्रममा उनले आफ्ना माग पूरा गराउन राप्रपाले छिट्टै आन्दोलन गर्ने समेत जिकिर गरे । अध्यक्ष लिङदेनले आफूहरूको आन्दोलन शान्तिपूर्ण हुने स्पष्ट पारे ।
‘मुलुकलाई निकास दिन नयाँ राजनीतिक सम्झौताको खाँचो छ’ उनले भने, ‘अहिलेको व्यवस्थाका कारण मुलक अप्ठ्यारो अवस्थामा गुज्रिनुपरेको छ ।’ मुलुकलाई निकास दिन नयाँ राजनीतिक सम्झौताको खाँचो रहेकामा लिङदेनको जोड छ ।
धर्मनिरपेक्षता, गणतन्त्र, संघीयता खारेजीको राप्रपाले गरेको माग मुलुकलाई पछाडि धकेल्ने विषय नभएको उनको भनाइ छ । लिङदेनले हिजो र आजका राम्रा कुरालाई लिएर नयाँ ढंगले अघि बढ्नुपर्ने बताए । माओवादीदेखि राजासम्म सबै रहने व्यवस्था हुनुपर्ने उनको धारणा छ ।














