Logo
Logo

नेपालका दलप्रति चिनियाँ टिप्पणी- आन्तरिक कलहमा रमाउने 


1.1k
Shares

काठमाडौं । नेपाल भ्रमणमा रहेको चिनियाँ प्रतिनिधि मण्डलले नेपालका राजनीतिक दलहरूसँग अन्तरक्रिया कार्यक्रम गरेको छ । 

आइतबार काठमाडौँमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै चिनियाँ नेताहरूले नेपालमाथि तीन विषयमा छलफल उठान गरेका छन् । 

चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग विदेश उपमन्त्री सुन हेयानको नेतृत्वमा चीनको प्रतिनिधिमण्डल नेपाल भ्रमणमा छ । सो क्रममा उक्त प्रतिनिधिमण्डलले आज नेपालका सबैजसो राजनीतिक दलका नेतासँग संयुक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो । 

सो क्रममा विदेश उपमन्त्री हेयानले नेपालले व्यावसायिक वातावरण सुधार गर्न जरुरी रहेको बताए । उनले नेपाल आउनुअघि चीनका व्यवसायीसँगको छलफलका क्रममा नेपालको व्यावसायिक वातावरण र व्यावसायिक नीति अस्थिर रहेको जानकारी पाएको पनि बताए । 

यस्तै, नेपालमा चीनले सञ्चालन गर्दै आइरहेको विकास परियोजनाको विषयमा समेत चिनियाँ प्रतिनिधिले कुरा उठाएका छन् । 

यसबाहेक, नेपालका नेताहरू आन्तरिक कलहमा रमाइरहेने पनि टिप्पणी गरेका छन् । उनीहरुले नेपालका नेताहरू आन्तरिक कलह र झैँ–झगडामा रमाउने गरेको र त्यसबाट देशको विकासमा प्रत्यक्ष असर परेको बताएका थिए । चिनियाँ प्रतिनिधिमण्डलले अब मिलेर अघि बढ्न नेपालका नेताहरूलाई सुझाव समेत दिएका छन् ।

चिनियाँ प्रतिनिधिमण्डलले उठाएका तीन विषयमा जवाफ दिँदै नेपाली नेताहरूले व्यावसायिक वातावरण सुधार गर्न नेपाल तयार रहेको बताए । यसका लागि नेपालले नीतिगत सुधार गर्नतर्फ ध्यान दिएको र आवश्यकताका आधारमा कानुनी व्यवस्था समेत सुधार गर्दै जाने बताए । 

नेपाली नेताहरू आन्तरिक कलह मात्रै नगर्ने भएकाले आवश्यक पर्दा राष्ट्रिय सहमति गर्न समेत एक जुट हुने उनीहरूको तर्क थियो ।

अन्तरक्रिया कार्यक्रममा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी लगायत राजनीतिक दलका नेताको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्