
काठमाडौं । सरकारले थानकोट–चन्द्रागिरि–चित्लाङ सडकमार्गलाई थप ६ करोड बजेट विनियोजन गरेको छ । गणेशमान सिंह मार्ग नाम रहेको उक्त सडकमार्गमा बजेट अभावका कारण धराप थापेको भन्दै सरकारको आलोचना भएपछि चालु आर्थिक वर्षमै काम हुने गरी ५ करोड ९९ लाख रुपैयाँ थप भएको हो ।
अर्थ मन्त्रालयले १२ माघमा भौतिक पूर्वाधार मन्त्रालयलाई पत्रचार गरी आगामी आर्थिक वर्ष (आव) का लागि सिर्जना हुने दायित्व बराबरको रकमको स्रोत सुनिश्चित गर्दै बजेट खर्च गर्न सहमति प्रदान गरेको हो ।
उक्त सडक हेर्ने डिभिजन सडक कार्यालय काठमाडौंले चालु आर्थिक वर्षका लागि २२ करोड रुपैयाँ माग गरे पनि २ करोड रुपैयाँमात्र पाएको थियो । बजेट अभाव भन्दै कार्यालयले सडक सुधारको काम नगरेपछि सडकमार्गको थानकोट–चन्द्रागिरि खण्ड उच्च जोखिमयुक्त रहेको छ ।
थानकोटबाट चन्द्रागिरितर्फ उकालोमा ५ सय मिटर कालोपत्र गर्न सम्झौता भए पनि मागेको बजेटको १० प्रतिशतभन्दा कम आएपछि अन्य मर्मतका काम गर्न नसकिने कार्यालयले बताउँदै आएको छ ।
रौतहट चन्द्रपुर, बारा निजगढ, पर्सा वीरगञ्ज, मकवानपुर हेटौंडा र थाहा नगरलगायत स्थान जाने छोटो दुरीको मार्ग चन्द्रागिरि सडकमा दैनिक हजारौं यात्रु जोखिम मोलेर हिँड्ने गरेका छन् ।
सरकारले थानकोट–चन्द्रागिरि–चित्लाङ सडक खण्डमा धराप थापेको भन्दै सवारी चालक, यात्रु र स्थानीय बासिन्दाले विरोध गर्दै आएका थिए ।














