Logo
Logo

ओलीसँग कांग्रेसको बालकोटमा गोप्य वार्ता



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमा छटपटी बढेको छ । बिहानदेखि बेलुकीसम्म सत्ता ढाल्ने पिरलोले ओलीलाई दिनको भोक र रातको निन्द्रा हराउन थालेको छ ।

यही गठबन्धन कायम भए अझै चार वर्ष सत्ताबाहिर हुने चिन्ताले ओलीलाई पिरोल्न थालेको हो । यसबीच अनेकौँ टिकडम गरेर भए पनि आफु प्रधानमन्त्री हुन अहिलेको सत्ता गठबन्धनलाई ढाल्ने कोसिसमा उनी लागेका छन् ।

खासगरी कांग्रेस संस्थापनइतर समूहका नेताहरूसँग एमालेका नेताहरूको भेटघाट बाक्लो हुन थालेपछि ‘अब त सरकार ढल्छ कि’ भन्ने झिनो आशा ओलीमा जागेको छ ।

गत साता मध्यपहाडी यात्राको समस्याहरू लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न पुगेका ओली दुई दिन बिरामी भएका थिए । उनको स्वास्थ्य राम्रो भए पनि आफ्ना कार्यकर्ताहरूलाई झुक्याउन बिरामीको नाटक गरेका हुन् । उनी दुई दिन सार्वजनिक कार्यक्रममा कही कतै देखिएनन् । बालकोटबाट बाहिर ननिस्केका ओलीले शुभचिन्तक र आफ्नो दल बाहिरका केही नेताहरूसँग भने भेटघाट गरेका थिए ।

त्यसबीचमा नेपाली कांग्रेसका नेताहरू बालकृष्ण खाणदेखि, सुजता कोइरालासम्मले ओलीलाई स्वास्थ्य लाभको शुभकामना दिने बहानामा भेटघाट गरेका थिए । उनीहरूले त्यसक्रममा वर्तमान राजनीतिक अवस्थाबारे पनि छलफल गरेको बुझिएको छ ।

प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग रिसाएका खाण पनि अहिलेको गठबन्धन तोडेर नयाँ समिकरण बनाउन चाहन्छन् । जसले गर्दा आरजु देउवाको पनि भेटघाटको क्रममा ओलीलाई स्वास्थ्यलाभको सन्देश सुनाएका थिए । तर, देउवा स्वयंले भने ओलीलाई विश्वास गरिसकेका छैनन ।

२०७९ को निर्वाचन सकिएलगत्तै पुस १० गते सरकार बनाउने बेलामा ओलीले ठूलो पार्टीको हैसियतबाट देउवालाई प्रधानमन्त्रीमा समर्थन गर्ने बचनबाट पछि हटेर प्रचण्डलाई काँधमा बोकेपछि ओलीसँग देउवा रिसाएका हुन् । यद्यपि, माओवादीले कांग्रेसलाई धोकेबाजको आरोप लगाइरहेका बेला देउवानिकट र संस्थापन इतरका केही नेताहरूले ओलीसँग सम्पर्क बढाइरहेका छन् ।

‘कांग्रेसका केही साथीहरू व्यक्तिगत भेटघाटका लागि बालकोट आउनु भएको थियो, राजनीतिक कुराकानी भएन, स्वास्थ्य अवस्थाको बारेमा मात्रै कुराकानी भयो’, ओलीसँगै बालकोटमा रहेका एक एमाले पदाधिकारीले दृष्टिसँग भने ।

देउवालाई समर्थन गर्ने भनेर धोका दिने बेलामा एमालेका ७८, माओवादीका ३२, रास्वपाका २०, राप्रपाका १४, जसपासँग १२, जनमतका ६, नागरिक उन्मुक्तिका ४ सिटलाई च्यापेर ओलीले प्रचण्डलाई प्रधानमन्त्री बनाइदिएका थिए । त्यसपछि ओली–देउवामा विश्वासको संकट उत्पन्न भएको हो ।

अहिले पनि कांग्रेसका नेताहरूले ओलीको विश्वास जितेर देउवासँग पुगे पनि उनले तत्कालै पत्याउने अवस्था नभएको जानकारहरूको दाबी छ ।

सत्ता गठबन्धन दलहरूबीच केही गडबढ भयो कि एमाले अध्यक्ष ओलीनिवास बालकोटमा राजनीतिक चहलपहल ह्वात्तै बढ्ने गरेको छ । तर, यो अवस्थामा तत्कालै राजनीतिक घटनाक्रम र सत्तामा कुनै उलटपलट नआउने दाबी गरिन्छ ।

गठबन्धन टुटाउन नसके मुलुकलाई मध्यवधितिर लैजाने एमालेको अर्को योजनामा केही नेताहरू लागेका छन् । यसका लागि कांग्रेसका नेताहरू बढी सक्रिय रहेको बताइन्छ । एमाले अध्यक्ष ओलीले पनि जनताको बलमा निर्णायक आन्दोलन गरेर मिसन ८४ अगावै देशलाई निकास दिने गरी मध्यावधि निर्वाचनमा लैजानुपर्ने अवस्था आउन सक्ने भन्दै तयार रहन कार्यकर्तालाई निर्देशन दिँदै आएका छन् ।

साथै, आन्दोलनको बेमौसमी बाजा पनि शुरु गर्न कार्यकर्तालाई निर्देशन दिएका छन् । जबकि, अहिले आन्दोलनबाट सत्तामा कुनै फेरबदल आउने सम्भावना न्यून छ । कम्युनिष्ट आन्दोलन ओरालो लागेको छ र संविधान र गणतन्त्रमाथि नयाँ चुनौती थपिएको भन्दै गठबन्धन दलका नेता माधवकुमार नेपालले तत्कालै सरकार परिवर्तन नहुने संकेत गरिसकेका छन् ।

नेपालले विधान अधिवेशनमा ओलीले गठबन्धन भत्काएर सरकार ढाल्ने प्रयास गरिरहे पनि त्यस्तो सम्भव नहुने बताएका हुन् । उता, एमाले महासचिव शंकर पोखरेलले माओवादीसँगको सहकार्य तोडेमा कांग्रेससँग सहकार्य हुने अभिव्यक्ति दिएका छन् । यसको अर्थ कांग्रेसका नेताहरू बालकोट पुगेपछि यी दुई नेताहरूबाट यस्तो अभिव्यक्ति सार्वजनिक भएको हो भन्नेमा कुनै दुई मत छैन ।

गठबन्धन भत्काउन एमालेले राष्ट्रिय सभा निर्वाचनको उम्मेदवारीमै प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शदेउवासँग सहकार्यका लागि छुट्टाछुट्टै प्रस्ताव राखेको थियो । संक्रमणकालीन न्याय टुंगो लगाउन एमालेको साथ खोजेका प्रधानमन्त्री प्रचण्ड गठबन्धनको दबाबमा पछि हटेपछि एमाले–माओवादी सहकार्यको सम्भावना टरेको थियो । यो विषयमा पनि बालकोटमा कांग्रेसका नेताहरूसँग ओलीले सामान्य विवेचना गरेका थिए ।

‘देश अप्ठ्यारो स्थितिमा छ, सबैतिरबाट देश जोगाउनुपर्नेछ, यस्तै अवस्था रहिरहे हामीले मिसन ०८४ भनेर पर्खिन नसक्ने स्थिति आउन सक्छ । देश बर्बाद हुन लाग्यो भने कहाँ ८४ को चुनाव भनेर पर्खेर बसेर हुन्छ ? उस्तै परे हामीले गठबन्धन भत्काएर… तर लोभीपापीहरू नभत्किन सक्छन । यिनीहरू सबैको घाँटी, शरीर एकै ठाउँ जोडिएको छ । यी एकै भ्रष्टाचारी वंशका, कमिसनतन्त्रीय वंशका हुन्, निकम्मा गोत्रका, देशद्रोही जातका हुन् । त्यसैले, हामीले जनताको बलमा आन्दोलनमा उत्रिनुपर्ने आवश्यकता छ भन्दै कार्याकर्तालाई उक्साएका थिए ।

ओलीले आन्दोलनका निम्ति पार्टीले जति बेला सिठी बजाउँछ, त्यति बेलै मैदानमा दौडिएर पुग्ने गरी तयारी गर्न कार्यकर्तालाई निर्देशन दिएका थिए । ‘छोटो तयारीमा आन्दोलनमा उत्रिनुपर्ने हुन सक्छ । यो मानसिकताका साथ हामी जानुपर्छ । उनीहरूले हामीमाथि जस्तोसुकै प्रहार गर्न सक्ने स्थिति छ । अहिले हामी निर्णायक लडाइँ लडिरहेका छौँ, उनीहरू एक्लै हामीसँग कोही लड्न सक्दैन भनेर आतंकित छन्’, ओलीले केही दिन अघि यस्तो अव्यिक्ति दिएका थिए । त्यसलगत्तै कांग्रेसका नेताहरु बालकोट पुग्नुलाई राजनीतिमा सामान्य अर्थमा लिइएको छैन ।

उता, गठबन्धन दलका प्रमुख नेता नेकपा एसका अध्यक्ष नेपालले कम्युनिष्ट पार्टीको एकतालाई जोड दिएर सत्ता गठबन्धन भत्काउन खोज्ने ओलीको निदहराम गराइदिएका छन् । नेपालका अनुसार अबको चार वर्ष यो गठबन्धन निरन्तर अगाडि बढ्छ ।

प्रतिक्रिया दिनुहोस्