Logo
Logo

देउवालाई टक्कर दिन गगनको दौडाहा


945
Shares

काठमाडौं । प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसमा गुटगत रूपमा प्रतिष्पर्धा हुने गरेको लामो समय भयो । अब भने प्रतिष्पर्धामा मात्रै होइन, अभियान र विचार निर्माणमा पनि समानान्तर अभ्यास सुरु भएको छ ।

त्यसमाथि पनि रोचक पक्ष त के छ भने पार्टीको पहिलो वरियताका महामन्त्री गगन थापा पार्टीको ‘समुदायमा कांग्रेस अभियान’ सञ्चालन भइरहेको समयमा जुधाएर मेची–महाकाली यात्रामा निस्किएका छन् । थापाको यात्रा माघ १३ गते शनिबार झापाको भद्रपुरस्थित हुलाकी राजमार्गको प्रवेश विन्दुबाट आरम्भ भइसकेको छ ।

कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्मा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पनि सहभागी सुभारम्भ कार्यक्रममा महामन्त्री थापालाई मेचीपुलमा पार्टीको झन्डा हस्तान्तरण गरेर बिदाइ गरिएको थियो ।

अर्कोतर्फ सिंगो पार्टीले समुदायमा कांग्रेस अभियान सञ्चालन गर्न लागेको छ । मंगलबारबाट वडासम्म सुरु हुने अभियानका लागि कांग्रेसले केन्द्रीय प्रतिनिधि खटाइसकेको छ । त्यसलाई थप प्रभावकारी बनाउनका लागि कांग्रेसले आइतबार मात्रै फरक टोली फरक जिल्लामा पठाएको छ ।

महामन्त्री थापाको संवाद यात्रा र पार्टीको समुदायमा कांग्रेस अभियान माघ २६ गते पार्टीका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको स्मृति दिवसम्म हुने कार्यतालिका तय भएको छ ।

यतिसम्मको समानान्तर कार्यक्रम हो भने कसरी सहजै बुझ्न सकिन्छ भने कांग्रेसले सार्वजनिक गरेको समुदायमा कांग्रेस अभियानअन्तर्गत नेताहरूलाई खटाएको सूचीमा महामन्त्री थापा र शर्मा परेका छैनन् ।

महामन्त्री थापाले जनताका गुनासा र सुझाव सुन्न तथा पर्टीका कार्यकर्ताहरूसँग साक्षात्कार गर्न पूर्वमा मेचीदेखि पश्चिमको महाकालीसम्म यात्रा सुरु गरेको उल्लेख गरेका छन् । झापाको भद्रपुर–५, मेचीपुल भन्सारबाट सुरु भएको संवाद यात्रा मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपुर, नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरसम्म हुलाकी राजमार्ग वरपर भएर हुनेछ ।

संसदीय दलको निर्वाचनमा सभापति शेरबहादुर देउवासँग प्रत्यासी बनेका गगन थापाले अब पार्टीको सभापति बन्ने तयारीस्वरुप पार्टीको अभियानसँग जुधाएर आफ्नो संवादयात्रा सुरु गरेको निकटस्थहरू बताउँछन् । पार्टी कार्यकर्ता र जनताका गुनासा सुन्न तथा सुझाव लिन भन्दै जारी संवाद यात्रामा थापाले कांग्रेसका नेता कार्यकर्ता मात्र नभइ आम नागरिकसँग प्रत्यक्ष संवाद गरिरहेका छन् ।

माघ २६ गते महाकालीको कञ्चनपुर पुगेर सम्पन्न हुने यात्रामा हुलाकी २० बढी जिल्लामा सर्वसाधारणलाई प्रत्यक्ष भेटेर सुझावसमेत संकलन गर्ने थापाले बताए ।

आफ्नो शक्ति पार्टीमा देखाउन पनि पार्टीको कार्यक्रमसँगै जुँधाएर नयाँ कार्यक्रम लिएर हिडेको भन्दै पार्टीको युवा पङ्तीले विरोध सुरु गरेको छ । जसले थापालाई फाइदा गर्छ कि घाटा त्यो भने भविष्यले देखाउला । तर, वैचारिक रुपमा पनि ०८२ मा हुने कांग्रेसको महाधिवेशनका लागि थापाले तयारी सुरु गरेको यो अभियानले देखाउँछ ।

यता, थापा र अर्का महामन्त्री शर्माले पनि अभियानलाई सशक्त बनाउन भूमिका नखेल्ने देखिएपछि पार्टीको संस्थापनले अभियानलाई थापाको संवाद यात्राभन्दा प्रभावकारी बनाउने उद्देश्यले फरक टोली फरक स्थानमा खटाएको छ । पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले अभियानको कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै फरक फरक जिल्लामा फरक फरक समुदायको बीचमा पुग्न र संवाद गर्न फरक फरक टोली खटाएको बताएका छन् ।

थापालाई काउन्टर दिनकै लागि पदाधिकारीलाई नेतृत्वसहित खटाइएको छ । कांग्रेसको राजनीतिमा अहिलेको पार्टी महामन्त्री पदमा रहँदा बाहेक हेर्ने हो भने थापाभन्दा सिनियर नेतालाई अहिले नेतृत्व दिएर अभियानका लागि प्रदेशको जिम्मेवारी दिएर संस्थापनले पठाएको छ ।

कोशी प्रदेशमा डा. शेखर कोइराला, डा. नारायण खड्का र बलबहादुर केसीले जिम्मेवारी पाएका छन् । मधेस प्रदेश र वागमती प्रदेशका ४ जिल्लामा प्रकाशमान सिंह, सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ लाई जिम्मेवारी दिइएको छ ।

वागमती प्रदेशमा डा. मिनेन्द्र रिजाल र पुष्पा भुसाल, गण्डकी प्रदेशमा सहमहामन्त्री महेन्द्र यादव र प्रदीप पौडेल, लुम्बिनी प्रदेशमा विमलेन्द्र निधि र डा. डिला संग्रौला, कर्णालीमा डा. शशांक कोइराला तथा सुदुरपश्चिम् प्रदेशमा भिष्मराज आङ्देम्बेलाई खटाइएको छ । यी सबै राजनीतिक रूपमा हेर्दा थापाभन्दा सिनियर नेता हुन् ।

यसले पार्टीभित्र १५ औँ महाधिवेशनको लेखाजोखा सुरु भएको संकेत दिन्छ । कुन नेता कुन कित्तामा लाग्ने भनेर लेखाजोखा सुरु गरेका छन् । महामन्त्रीहरू नै पार्टीको औपचारिक अभियानबाट अलग भएर संवाद यात्रा सुरु गर्नुले पार्टीको एउटा पंङती निराश बनेको छ । गुटगत गतिविधिबाट फाइदा लिनेहरू भने खुसी भएका छन् ।

गठबन्धन सरकारको मुख्य शक्ति कांग्रेसको यो गतिविधिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सत्ता घटकमा रहेका अन्य दलहरू भने झस्केका छन् । प्रचण्डको मन्त्रिपरिषद्लाई पुनर्गठन गर्ने योजना अलपत्र परेको छ । कांग्रेसका नेतापिच्छेका फरक फरक कुराले प्रचण्ड आजित भएका छन् ।

कांग्रेसकै दबाबका कारण सुशासनमा ब्रेक लागेको छ । प्रचण्डले प्रतिवद्धता जनाएका कतिपय काम कांग्रेसभित्रको किचलोले गर्न पाएका छैनन् । प्रचण्डको एक वर्षे कार्यकाल सजिलै बिते पनि आगामी दिन कठिन हुने देखिन्छ । कांग्रेसका एकथरी नेताहरू प्रचण्डलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने माग गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्