Logo
Logo

‘वामपन्थी शक्तिलाई एकतावद्ध बनाउनुपर्छ’


माधव नेपाल, अध्यक्ष, नेकपा एकीकृत समाजवादी

693
Shares

मुलुकको राष्ट्रिय राजनीतिक परिस्थितिमा अभैm पनि अस्थिरताका बादलहरू मडारिरहेका छन् । यसबीच आम निर्वाचन २०७९ को परिणामले निर्माण गरेको राजनीतिक शक्ति सन्तुलनमा खासै परिवर्तन भएको छैन । अहिले पनि संसदमा तिनै १२ वटा राजनीतिक दलहरू नै कायम छन् ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहल ‘प्रचण्ड’ को नेतृत्वमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जसपा, लोसपा, जनमत र नागरिक उन्मुक्ति पार्टी सम्मिलित सात दलीय गठबन्धनको सरकार कायम छ । यो सरकारले जनपक्षीय काम गर्ने प्रयत्न गरिरहेको छ ।

मुलुकमा कोभिडको प्रकोपपछि प्रकट भएको आर्थिक संकट र मन्दी अहिलेसम्म पनि कायमै छ । यसमा केही सुधार भए पनि उठेको राजस्वले चालु खर्च धान्न धौधौ परिरहेको छ । मूल्यवृद्धि र मुद्रास्फिति बढिरहेको छ । व्यापार घाटा चुलिंदै गएको छ । ठूलो सङ्ख्यामा युवा जनशक्ति बैदेशिक रोजगारीमा गएको छ र रेमिट्यान्सले अर्थतन्त्रलाई टेवा दिइरहेको अवस्था छ ।

आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन गर्ने भनिए पनि त्यस अनुसारको काम हुन सकेको छैन । कृषि क्षेत्रलगायत अन्य धेरै क्षेत्रमा परनिर्भरता कायमै छ । लाखौंको संख्यामा रहेको भूमिहिन र गरिव किसान तथा अव्यवस्थित बसोबासीहरूले वर्षौदेखि भोगचलन गर्दै आएको जमिनमाथिको स्वामित्व प्राप्त गर्ने र उत्पादनको न्यायोचित वितरण गर्ने काम अहिलेसम्म पनि हुन सकेको छैन ।

विगत सात दशकदेखि उठिरहेको क्रान्तिकारी भूमिसुधारको मुद्दा अहिलेसम्म पनि कार्यान्वयनको दिशामा अघि बढ्न सकेको छैन ।

सामाजिक भेदभावको अन्त्य र सामाजिक न्यायको विषय अहिले पनि जनसरोकारको चर्को मुद्दा बनेको छ । नेपाली जनतामाथि शोषण उत्पीडनको नयाँ रुप मिटरव्याजी शोषण चरम बनेको छ । भ्रष्टाचार, कमिशनतन्त्र र तस्करीका अनेकौं काण्डहरु उदाङ्गिएका छन् ।

सरकारले भ्रष्टाचारीहरूलाई कारबाही गर्ने प्रयास गरिरहेको छ । आर्थिक क्षेत्रको सुधार र भ्रष्टाचार नियन्त्रण एवं सुशासनका निम्ति अभैm प्रभावकारी कार्य गर्नुपर्ने आवश्यकता छ ।

मुलुकको वर्तमान अवस्थामा जनताको निरासा, प्रतिरोध र आक्रोशको भावनालाई उपयोग गर्दै प्रतिगमनकारी तथा पश्चगमनकारीहरुबाट विद्यमान व्यवस्था परिवर्तनको नामममा विभिन्न गतिविधिहरु संचालन गरी राजनीतिक अस्थिरता सिर्जना गर्ने र सामाजिक सद्भाव खलबलाउने कोसिस भईरहेको छ ।

यस्तो अवस्थामा वर्तमान वाम–लोकतान्त्रिक शक्तिको सरकारका सामु निश्चित दायित्वहरू छन् । खासगरी गठबन्धनका दलहरूबीच छलफल गरेर तयार पारिएका न्युनतम साझा कार्यक्रममा समावेश गरिएका विषयहरूः संविधानको रक्षा र आवश्यकतानुसार परिमार्जन एवं विकास गर्ने, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गर्ने, देशको अर्थतन्त्र सुदृढ गर्न नीतिगत एवं संरचनागत सुधार गर्ने उद्देश्य समेटिएका छन् ।

त्यसैगरी, उत्पादनमुखी अर्थतन्त्र निर्माण र आपूर्ति व्यवस्थामा सुधार गर्ने, राष्ट्रिय उत्पादनमा बृद्धि र रोजगारी सिर्जना गर्ने, गुणस्तरीय सेवा प्रवाह गर्ने, भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रत्याभूति दिने, विस्तृत शान्ति सम्झौताका बाँकी काम र विभिन्न पक्षहरूसँग भएका सहमतिहरूको कार्यान्वयन गर्ने यसको उद्देश्य हो ।

समाजमा विद्यमान वर्गीय, जातीय, क्षेत्रीय, लैङगिक, भाषिक, आर्थिक, राजनीतिक, सामाजिक तथा सांस्कृतिक आदि सबै प्रकारका विभेदहरूको अन्त्य गर्न निरन्तर प्रयास गर्ने; जलवायु परिवर्तनले उत्पन्न गरेको जोखिम न्यूनीकरण गरी पर्यावरणीय सन्तुलन कायम गर्न पहल गर्ने, राष्ट्रिय हितको रक्षा र स्वतन्त्र एवं सन्तुलित परराष्ट्र नीति अबलम्बन गर्ने आदि कार्यहरु नै वर्तमान सरकारका मुख्य दायित्वहरु हुन् । वर्तमान सरकार उपर्युक्त दायित्व पूरा गर्न अझ गंभीरता र तदारुकताका साथ लाग्न आवश्यक छ ।

यतिवेला हाम्रो पार्टी मुलुकमा तिनै तहको सरकारमा एक वा अर्को ढंगले संलग्न छ । हाम्रो पार्टी सरकार संचालनको क्षेत्रबाट राष्ट्रियता, लोकतन्त्र, जनजीविका, सुशासन, मानव अधिकार र सामाजिक न्यायको पक्षमा प्रभावकारी ढङ्गले काम हुनु पर्दछ भन्ने मान्यता राख्दछ । विभिन्न स्थानीय तहमा पनि हाम्रो पार्टीका प्रतिनिधिहरु निर्वाचित भएका छन् र कतिपय स्थानमा नेतृत्व प्रदान गर्ने अवस्थामा समेत छन् ।

हाम्रो पार्टी प्रतिनिधिले जहाँ स्थानीय सरकारको नेतृत्व गरिरहेका छन्, त्यहाँ राष्ट्र र जनताको हितको पक्षमा रचनात्मक ढंगले कार्य सम्पादन गरी नमुना प्रस्तुत गर्नुपर्दछ । सबै तहका हाम्रो पार्टी कमिटीहरू तथा कार्यकर्ताहरूले सामाजिक न्याय तथा सम्बन्धित स्थानीय तहको विकास निर्माण र जनसरोकारका विषयहरुको उठान गरी संसद, सरकार र सडक तिनवटै मोर्चामा प्रभावकारी भूमिका खेल्नु पर्दछ ।

गठबन्धन दलहरू बीचमा आपसी समझदारीका साथ काम हुनपर्दछ भन्नेमा पार्टीले जोड दिन चाहन्छ । यतिवेला मुलुकमा राजनीतिक स्थिरता र सरकारको स्थिरताको प्रश्न पनि उठिरहेको छ । यसको मुख्य कारण सदनभित्र गणतन्त्रवादी र गणतन्त्र विरोधी, परिवर्तनकारी र प्रतिगमनकारी, अग्रगामी र पश्चगामी, संघीयता पक्षधर र संघीयता विरोधी, धर्म निरपेक्षतावादी र धर्मसापेक्षतावादी आदि विभिन्न चरित्रका राजनीतिक शक्तिहरू उपस्थित छन् ।

यी शक्तिहरूबीच अनेक प्रकारले द्वन्द्व चलिरहेको छ । यसरी चलिरहेका द्वन्द्वले गर्दा मुलुकमा राजनीतिक अस्थिरता पैदा गर्ने प्रयत्न एक वा अर्को ढंगले भईरहेको छ । अहिले प्रतिपक्षमा रहेका दलहरुले जस्तासुकै विषयमा पनि संसद अवरोध गर्ने गरेका छन् ।

सत्ताच्युत भएर प्रमुख प्रतिपक्षमा पुगेको एमाले अत्यन्त गैर जिम्मेवार ढंगले नकारात्मक भूमिका निर्वाह गरिरहेको छ र विभिन्न ढंगले सरकार संचालनमा रहेको वर्तमान गठबन्धन तोड्न उद्यत छ । पुनरुत्थानवादी, प्रतिगामी तथा पश्चगामी शक्तिहरुको कृयाकलापहरु र प्रतिपक्षका गतिविधिहरुबाट मुलुकलाई अस्थिरतातर्पm धकेल्न खोजेको आभाष पाइन्छ ।

यस्तो अवस्थामा संसद पार्टी कामको र वर्ग संघर्षको एउटा महत्वपूर्ण मोर्चा बन्न पुगेको छ । वर्तमान अवस्थामा संघीय संसदका दुबै सदन र सबै प्रदेश सभाहरूमा हाम्रो पार्टीको प्रतिनिधिहरुले संसदीय मोर्चालाई रचनात्मक ढंगले कुशलतापूर्वक राष्ट्र र जनताको हितमा आम जनतासंग एकाकार भई राम्रोसँग उपयोग गर्न र वर्ग संघर्षलाई संचालन गर्न सक्नुपर्दछ ।

पार्टीको आम नीति र निर्वाचन घोषणा–पत्र अनुसार राष्ट्रियता, लोकतन्त्र, शुसाशन, सामाजिक न्याय, मानव अधिकार र जनसरोकारका विषयहरूलाई सशक्त ढङगले अघि बढाउन निरन्तर लागिरहनु पर्दछ ।

समाजवादी मोर्चाको औचित्य
०६२/०६३ को जनक्रान्तिका उपलब्धिका रुपमा प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ र विकास गर्ने, मुलुकमा विद्यमान राजनीतिक, आर्थिक, सामाजिक एवं सांस्कृतिक समस्या र चुनौतिहरुको सामना गर्ने, पुनरुत्थानवादी, पश्चगामी, प्रतिगामी र यथास्थितिवादीहरुको विरुद्धमा समाजवादी शक्तिहरुलाई एकतावद्ध गर्ने यसको उद्देश्य हो ।

मुलुकको सामाजिक आर्थिक विकास, सामाजिक सुरक्षा, सुशासन र सामाजिक न्याय सहितको अग्रगामी रुपान्तरणको प्रकृयाद्वारा नेपाली विशेषताको समाजवाद निर्माण गर्ने संकल्पका साथ २०८० असार ४ गते समाजवादी मोर्चा, नेपालको गठन भएको छ ।

यस मोर्चामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र नेपाल कम्युनिष्ट पार्टी समेत ४ दलहरू आवद्ध छन् । यस मोर्चाले १५ वुंदे उद्देश्य तथा नीतिगत प्रतिवद्धताहरु अघि सार्दै मोर्चाको नीतिगत निर्णय गर्न सदस्य दलहरुको अध्यक्षसहित तोकिएका प्रतिनिधिहरु रहने गरी एक केन्द्रीय संयोजन समिति गठन गरेको छ ।

यसले आफ्नो अवधारणा पत्र र उद्देश्यलाई समर्थन गर्ने राजनीतिक दलहरुलाई मोर्चामा सामेल गर्ने र आवश्यकतानुसार प्रदेश र स्थानीय तहसम्म आफ्नो संगठन विस्तार गर्ने गरी मोर्चाको संगठनात्मक संरचना र कार्यविधि अघि सारेको छ ।

हामीले पार्टी गठनको घोषणा गरेदेखि निरन्तर अहिलेसम्म नेपालको विभाजित कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्ने मान्यता अघि सार्दै आएका छौं । पार्टी निर्माणको क्रममा अहिलेसम्म कतिपय साना घटकहरुलाई पार्टीमा एकतावद्ध गरेका पनि छौं । अहिले पनि कम्युनिष्ट क्रान्तिकारीहरु विशेषगरी समाजवादको पक्षमा तथा समाजवादी कार्यदिशा अवलम्बन गर्ने कम्युनिष्टहरुको बीचमा एकता हुनुपर्दछ भन्ने विषयमा जोड दिइरहेका पनि छौं । तर पनि तत्काल कम्युनिष्ट पार्टीहरुको बीचमा पार्टी एकता गर्ने विषयले सार्थकता पाउन सकेको छैन ।

नेपाली विशेषताको समाजवाद निर्माण गर्ने मान्यताका साथ समाजवादी मोर्चा निर्माण गर्ने विषय रणनीतिक महत्वको संयुक्त मोर्चा निर्माणको विषय हो । यस मोर्चालाई ठिक ढंगले परिचालन गर्न सकियो भने समाजवादी कार्यदिशा अवलम्बन गर्ने र नेपाली विशेषताको समाजवाद निर्माण गर्ने कार्यमा मोर्चाका घटक दलहरुबीचमा सहकार्य गर्ने आधार तयार गर्दछ । यसले अन्ततः कम्युनिष्ट तथा वामपंथीहरुलाई एकतावद्ध र एकिकृत गर्न ऐतिहासिक महत्वको भूमिका खेल्नेछ भन्ने अपेक्षा गरिएको छ ।

भोट क्रसिङ छलफलको विषय
यही माघ ११ गते राष्ट्रिय सभाको निर्वाचन सम्पन्न भएको छ । राष्ट्रिय सभाका १९ पदमा भएको निर्वाचनमा सत्तारुढ दलको गठबन्धनले आपसी समझदारीमा भागबण्डा गरेको थियो । जसअनुसार कांग्रेसको १० सिट, माओवादी केन्द्रको ६ सिट, एकीकृत समाजवादीको २ सिट र जसपाको १ सिट हुनेगरी भागबण्डा भएको थियो । तर, कोशी प्रदेशको महिला क्लस्टरमा गठबन्धाको भोट क्रस भएर सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी चम्पा कार्कीलाई हराउँदै एमालेकी रुक्मीणी कोइराला निर्वाचित हुने स्थिति बन्यो ।

एमालेले गठबन्धनमा रहेका दलहरुसँग सहकार्य गर्ने र गठबन्धनलाई कमजोर बनाउँने नीति लिएको थियो । राष्ट्रिय सभाको उक्त निर्वाचनमा गठबन्धनसँग सहकार्यका लागि एमालेले वार्ता, छलफल र सम्बाद गरे पनि सहमति हुन सकेन ।

सत्ता गठबन्धनका दलहरु एकजुट भएर उभिन पुगेपछि एमालेको प्रयत्न असफल भयो । त्यस्तो अवस्थामा एमालेले राप्रपासँग गठबन्धन गर्न पुगेको थियो । यस परिणामले कोशी प्रदेशमा १ सिट जितेर यो निर्वाचनमा एमाले शून्य हुनबाट जोगिन पुगेको छ ।

राष्ट्रिय सभाको निर्वाचनको परिणामले सत्ता गठबन्धनमा उलटफेर हुने अवस्था नरहे पनि भोट क्रसिङको विषयले गठबन्धनका दलहरूभित्र मात्र होइन हरेक दलभित्र छलफलको विषय बन्न पुगेको छ ।

यस पटकको राष्ट्रिय सभाको निर्वाचनको परिणामले राष्ट्रिय सभाको राजनीतिक शक्ति सन्तुलनमा हेरफेर ल्याएको छ । यस पटक राष्ट्रिय सभामा सबैभन्दा ठूलो दल माओवादी केन्द्र बन्न पुगेको छ । यसअघि सबैभन्दा ठूलो दलको रुपमा रहेको एमाले पहिलो दलबाट तेस्रो दर्जामा खुम्चिन पुगेको छ । कांग्रेस दोस्रो ठूलो दल बन्न पुगेको छ भने हाम्रो पार्टी एकीकृत समाजवादी चौथो र जसपा पाँचौ दलमा रहेको छ ।

पार्टीको दशौं राष्ट्रिय महाधिवेशनः
पार्टी केन्द्रीय कमिटीको छैटौं बैठकले २०८० साल, माघ १४–१८ मा पार्टीको दशौं राष्ट्रिय महाधिवेशनको आयोजना गर्ने निर्णय गरेको थियो । तर, यसबीच जिल्ला कमिटीहरुबाट पार्टी सदस्यता नविकरणको लगत नआईसकेको, गत मंसीर १७ गतेको भूकम्पले कर्णाली प्रदेशमा ठुलो धनजनको क्षति पु¥याएको, त्यसले पार्टी पंक्तिलाई प्रभावित पारेको, यही माघ ११ गते राष्ट्रिय सभाको निर्वाचन तोकिएको र पार्टीको राष्ट्रिय महाधिवेशन अघि नै पार्टीको विधान संशोधन गर्न आवश्यक भएको आदि कारणले तोकिएको मितिमा महाधिवेशनको तयारी गर्न नसकिने भयो ।

पार्टीको दशौं राष्ट्रिय महाधिवेशन २०८१ साल, जेष्ठ महिनाको ३–७ गते काठमाडौंमा आयोजना गर्ने निर्णय भएको छ । उक्त महाधिवेशनमा चार वटा दस्तावेजहरुः (१) राजनीतिक प्रतिवेदन, (२) पार्टीको कार्यक्रम, (३) संगठनात्मक प्रस्ताव र (४) पार्टी विधान प्रस्तुत गर्ने निर्णय भएको छ ।

वर्तमान ऐतिहासिक कार्यभारहरूः
०६२/०६३ को शान्तिपूर्ण जनक्रान्तिद्वारा सामन्ती राजतन्त्रलाई अन्त्य गरेर संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएसंगै नेपाली समाजको आधारभूत चरित्रमा परिवर्तन भएको छ । नेपाली क्रान्तिले पूँजीवादी जनवादी क्रान्तिको चरण आधारभूत रुपमा पूरा गरी दोस्रो चरणमा प्रवेश गरेको छ ।

नेपाली समाजमा सामन्तवाद मूलभूत रुपमा विघटित भएको छ र नेपाली समाज प्रारंम्भिक पूँजीवादी समाजमा रुपान्तरित भएको छ । यस्तो अवस्थामा समाजवादका पक्षधर शक्ति र त्यसका विरोधी शक्तिहरुका बीचको अन्तर्विरोध हल गर्नका निम्ति समाजवाद विरोधी शक्तिहरुमाथि प्रहार केन्द्रित गर्दै समाजवाद निर्माणको दिशामा अघिबढ्नु नै यतिवेलाको हाम्रो मुख्य कार्यदिशा हो ।

हाम्रो अधिकतम लक्ष्य वैज्ञानिक समाजवाद हो । नेपाली विशेषताको समाजवाद निर्माण गर्न समाजवादको यात्रामा अगाडि बढ्नु नै नेपाली क्रान्तिको वर्तमान राजनीतिक कार्यदिशा हो ।

पार्टीको तात्कालिक कार्यभारहरूः
नेपाली क्रान्तिको वर्तमान विशिष्ट अवस्थामा पार्टीले तात्कालिक राजनीतिक कार्यदिशा अनुरुप तात्कालिक कार्यभारहरु निश्चित गर्नुपर्दछ । यतिवेलाका तात्कालिक कार्यभारहरू मुख्यतः वैचारिक, राजनीतिक, सांगठानिक, सामाजिक तथा आर्थिक क्षेत्रमा गरिने हाम्रा कामहरु नै हुन् । अहिले मुलुकको कम्युनिष्ट आन्दोलन फुट र विभाजनको अवस्थामा रहेको छ ।

अघिल्लो आम निर्वाचन २०७४ मा कम्युनिष्टहरु एकतावद्ध हुँदा शान्तिपूर्ण ढंगले निर्वाचनको प्रक्रियाबाट झण्डै दुई तिहाई बहुमत प्राप्त गरी ऐतिहासिक रुपमा अत्यधिक बहुमतको कम्युनिष्ट पार्टीको सरकार गठन भएको थियो । तर, सो अवसरलाई तत्कालीन नेतृत्वबाट ठिक ढंगले सदुपयोग गर्न नसकेको र गलत कदम चाली लोकतान्त्रिक प्रणाली र कम्युनिष्ट आन्दोलनलाई गंभीर संकटमा पु¥याएको कारणले गर्दा हामीले नचिताएको अवस्थामा देशको राजनीति र कम्युनिष्ट आन्दोलन पुगेको यथार्थ हामी सबैलाई अवगत नै छ ।

आम निर्वाचन २०७९ को परिणाम पछि अहिले सबै कम्युनिष्टहरु मिल्दा पनि बहुमत प्राप्त हुन नसक्ने स्थिति पैदा भएको छ । कम्युनिष्ट आन्दोलन ओरालो लागेको छ र संविधान र गणतन्त्र माथि नयाँ चुनौति थपिएको छ ।

त्यसैले आजको हाम्रो एउटा महत्वपूर्ण कार्यभार नेपाली कम्युनिष्ट आन्दोलनको रक्षा र विकास गर्नु पनि हो । यसका लागि नेपाली कम्युनिष्ट आन्दोलनमा देखापरेको दक्षिणपंथी विसर्जनवादी तथा उग्रवामपंथी जडशुत्रवादी विचार र प्रवृत्तिहरुको विरुद्ध विचारधारात्मक संघर्ष संचालन गर्नु र कम्युनिष्ट तथा वामपंथी शक्तिहरु राष्ट्र र जनताको हितको पक्षमा तथा समाजवादको पक्षमा मिलेर काम गर्नु नै हो ।

त्यसैले यतिवेला दार्शनिक, सैद्धान्तिक र वैचारिक क्षेत्रमा अध्ययन तथा प्रशिक्षण संचालन गर्न जोड दिनुपर्दछ । त्यसका लागि द्वन्दात्मक ऐतिहासिक भौतिकवादी दर्शन, माक्र्सवादी लेनिनवादी सिद्धान्त र पार्टीका दस्तावेजहरुमा आधारित अध्ययन सामाग्रीहरु तयार गर्ने, नियमित रुपमा पार्टी स्कूल तथा प्रशिक्षण कार्यक्रम संचालन गरी सिंगो पार्टीको वैचारिक चेतना उन्नत पार्ने, ओली नेतृत्व गुटले गरेका गलत काम, लिएका दक्षिणपंथी नीति तथा फैलाई रहेको गलत विचार र प्रवृत्तिहरु तथा भ्रमहरुलाई चिर्नका लागि वैचारिक क्षेत्रका अभियान संचालन गर्ने विषयहरु यतिवेला एक महत्वपूर्ण वैचारिक कार्यभार बनेको छ ।

नेपाली जनताले सात दशकभन्दा लामो त्याग, वलिदान र समर्पणका कष्टसाध्य संघर्षद्वारा स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रलाई रक्षा र विकास गर्नु र यसलाई नेपाली विशेषताको समाजवाद निर्माणको दिशामा अघिबढाउनु हाम्रो मूख्य राजनीतिक कार्यभार हो ।

मुलुकको वर्तमान विशिष्ट अवस्थामा वाम–लोकतान्त्रिक गठबन्धन कायम गरी राजनीतिलाई स्थिरता दिने र राष्ट्र र जनताको हितमा अघि बढाउने कोसिस भइरहेको छ । यस गठबन्धनलाई वर्तमान प्रतिनिधिसभाको पूर्ण कार्यकालसम्म कायम राख्न सहमति र सहकार्यको आधारमा संघीय, प्रदेश र स्थानीय ३ वटै तहको सरकार संचालन गरी राष्ट्र र जनताको हित तथा समाजवादका आधारहरु खडा गर्ने दिशामा अघि बढ्नु पर्दछ ।

यसका साथै वामपंथी शक्तिहरुबीच सहकार्यको भावना विकास गर्ने, वामपंथी शक्तिलाई एकतावद्ध बनाउँने र विभिन्न ढंगले मोर्चा निर्माण गरी पार्टी एकताका आधारहरु तयार गर्ने अर्को महत्वपूर्ण राजनीतिक कार्यभारलाई पनि अगाडि बढाउनु पर्दछ ।

यतिवेला मुलुकमा रोजगारीको अवसर नपाउँदा रोजगारीको खोजीमा ठुलो संख्यामा मुलुकका विज्ञ तथा युवापंक्ति विदेश पलायन भइरहेको छ । यस्तो अवस्थामा स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगधन्दाहरुको स्थापना गर्ने, कृषि व्यवसायिकरण तथा बजारिकरणका लागि अभियान संचालन गर्दै पारिवारिक खेती, सामुहिक खेती र सहकारी खेतीमा आधारित गराएर नेपाली समाजलाई आवश्यक खाद्य तथा पेय वस्तु मुलुकभित्रै उत्पादन गर्न जोड दिएर अघि बढ्ने हो भने हजारौं मात्र होइन लाखौंलाई रोजगारी प्रदान गर्न सकिने छ । यसका लागि प्रवासमा रहेका नेपालीहरुको ज्ञान, सिप, अनुभव र पूँजीलाई राष्ट्रिय विकास अभियानमा परिचालन गर्नु हाम्रो वर्तमान महत्वपूर्ण कार्यभार बनेको छ ।

(माघ १४ र १५ गते काठमाडौंमा बसेको नेकपा एकीकृत समाजवादीको केन्द्रीय परिषद्को दोस्रो बैठकमा अध्यक्ष माधवकुमार नेपालले गरेको लिखित सम्बोधनको सम्पादित अंश)

प्रतिक्रिया दिनुहोस्