Logo
Logo

६१ सुन तस्करी प्रकरण: सीआईबी प्रमुखसँग पनि गरियो सोधपुछ 



काठमाडौं । ६१ किलो सुन तस्करी प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुखसँग पनि सोधपुछ गरिएको छ । सुन तस्करीबारे छानबिन गर्न गठित उच्चस्तरीय समितिले सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यसँग सोधपुछ गरेको हो । 

सुन तस्करी प्रकरणमा मुछिएका एक आरोपी प्रहरी कार्यालयमा पुगेर पनि छुटेको सन्दर्भमा उनीसँग सोधपुछ गरेको समितिले जनाएको छ । 

त्यसक्रममा बज्राचार्यले आफूलाई उक्त विषय थाहा नभएको जवाफ दिएका छन् । त्यस्तै समितिले सुन प्रकरणको अनुसन्धान अधिकृत डीएसपी दुर्गाराज दाहालसँग पनि सोधपुछ गरेको छ ।

सरकारले सुन तस्करीबारे छानबिन गर्न उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा छानबिन समिति बनाएको थियो । 

तीन महिनाको समय सीमा सकिएपछि फेरि थप भएको अवधिमा आयोगले सुन प्रकरणसँग सम्बन्धित अन्य व्यक्तिहरूसँग बयान लिइरहेको छ ।

६१ किलो सुन तस्करी गरेको आरोपमा पक्राउ २५ जनामध्ये ६ जनलाई धरौटीमा छाड्न उच्च अदालत पाटनले आदेश दिएको थियो । 

उक्त आदेशसँगै  कृष्णकुमार श्रेष्ठ, पुष्करराज भट्ट, गणेशप्रसाद पौडेल, वीरेन्द्र नेपाली, सुदर्शन गौतम र यादव पराजुलीलाई धरौटीमा निस्केका छन् । 

सो प्रकरणमा मुख्य आरोपी दावा छिरिङ, टाँसी भनिने थुप्तिन छिरिङ, शिव कुमार सर्राफ, हर्कराज राई, दिलिप भुजेल, रामकुमार भुजेल, राजेन्द्रकुमार राइ, सुमन खरेल, किशोर बस्नेत, सरोज श्रेष्ठ, कुमार ढकाल र सन्तोष चन्द भने थुनामा रहेका छन् । 

गत साउनमा ’ब्रेक प्याड’मा राखेर अवैधरुपमा भित्र्याएको ६० किलो ७१६ ग्राम सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालय अगाडिबाट राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्