Logo
Logo

खाल्डोमा खसेर प्रहरी सहायक हवल्दार रानाको मृत्यु



चितवन । पुल बनाउन खनेको खाल्डोमा खसेर प्रहरी सहायक हवल्दार रमेश रानाको मृत्यु भएको छ । चितवनस्थित नारायणगढ–मुग्लिन सडकखण्डमा पुल बनाउन खनेको खाल्डोमा खसेर रानाको निधन भएको हो ।

रूपन्देही घर भएका ३३ वर्षीय राना मंगलबार बेलुकी करिब ११ बजेतिर नारायणगढ–मुग्लिन सडकखण्डमा पुल बनाउन खनेको खाल्डोमा खसेका थिए । मोटरसाइकलमा सवार राना चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २९ स्थित पन्ध्र किलोस्थित सडकको खाल्डोमा खसेका थिए ।

प्रहरी सहायक हवल्दार रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक उमाशंकरप्रसाद शाहले बताए । खाल्डोमा खसेका रानालाई उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेज लगिएको र त्यही उनको निधन भएको शाहले बताए ।

मोटरसाइकलमै सवार ३५ वर्षीय विकास सुनार भने घाइते छन् । अनुहारमा चोट लागेका उनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

प्रहरी सहायक हवल्दार राना गत माघ ११ गतेदेखि बिदामा थिए । उनी गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङमा दरबन्दी भई अस्थायी प्रहरी पोष्ट धारापानी गोरखामा कार्यरत थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्