Logo
Logo

भिजीट भिसामा सेटिङ गर्ने अध्यागमन अधिकृतविरुद्ध पक्राउ पुर्जी जारी



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा संगठित रूपमै भिजिट भिसाको सेटिङ चलेको निष्कर्ष निकाल्दै प्रहरीले सात निजामती कर्मचारीविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । जिल्ला अदालत काठमाडौंले गिरोहमा आबद्ध थप अध्यागमन अधिकृतविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

थुनामा रहेका अध्यागमन अधिकृत नरवीर खड्का र बिचौलियामाथिको अनुसन्धानमा थप कर्मचारीको संलग्नता पुष्टि भएसँगै उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । 

पक्राउ पुर्जी जारी भएकाहरूमा अध्यागमन अधिकृतहरू कुशल बराल, शैलेन्द्र ढकाल, विमल पौडेल, विष्णु अर्याल, विकास डंगोल, पीताम्बर रिमाललगायत रहेका छन् । जिल्ला अदालत, काठमाडौंले ९ माघमा उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।
 
जिल्ला प्रहरी परिसर काठमाडौंले अधिकृत खड्कासहित १० जनालाई थुनामा राखी अनुसन्धान गरिरहेको छ । उनीहरूको बयान र मोबाइलमाथि अनुसन्धान हुँदा संगठित गिरोहको संलग्नता पुष्टि भएको हो । 

अधिकृत खड्काले पक्राउ पुर्जी भएका सातैजनाको नामसमेत लिएर आफूहरूले मिलेरै भिजिट भिसामा यात्रा अनुमति दिने गरेको र पैसा बाँडेर लिने गरेको बयान दिएका छन्  । उनको मोबाइलमा समेत यससम्बन्धी प्रमाण फेला परेको प्रहरीले जनाएको छ । 

भिजिट भिसाको सेटिङमा प्रहरीले लिखत कीर्ते तथा संगठित अपराधको कसुरमा अनुसन्धान गरिरहेको छ । अनुसन्धान अन्तिम चरणमा रहेको र केही दिनभित्रै अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । 

दुई महिनाअघि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले यस प्रकरणमा प्रारम्भिक अनुसन्धान थालेको थियो । अपराध अनुसन्धान कार्यालयले अधिकृत खड्कासहितलाई पक्राउ गरी विस्तृत अनुसन्धानका लागि परिसरमा बुझाएको थियो । ३९ जना पक्राउ परेकामा किर्ते कागजपत्र बनाउने समूहविरुद्ध यसअघि नै अर्को मुद्दा दायर भइसकेको छ ।  

सुरुमा बिचौलिया गीता साहलाई पक्राउ गरी प्रहरीले यसको अनुसन्धान थालेको थियो । उनीमार्फत ट्राभल एजेन्सी सञ्चालक सरोज यादव पक्राउ परेकोमा उनीमार्फत नै प्रहरी अध्यागमन अधिकृत खड्कासम्म पुगेको हो । 

खड्काले यसमा संलग्न अन्य कर्मचारी र बिचौलियाबारे प्रहरीलाई खुलाएका थिए  । सोही आधारमा ट्राभल एजेन्सी सञ्चालक पदम लामा, छिरिङ लामा, विनोद कार्की, रामप्रसाद भण्डारी, दिनेश ज्ञवाली लगायतलाई प्रहरीले पक्राउ गरेको हो  । अधिकृत खड्काले श्रीमतीको बैंक खातामा समेत घुस लिने गरेका थिए ।

अधिकृत खड्काको बयानका आधारमा यसअघि अर्का अधिकृत ताराबहादुर कुँवरविरुद्ध प्रहरीले मुद्दा दायर गरिसकेको छ । 

खड्काविरुद्ध भने एक प्रहरी जवानलाई भिजिट भिसामा रसिया पठाउन सहयोग गरेको घटनामा मानव बेचबिखनको अर्को मुद्दासमेत दायर भएको छ । जसमा उनलाई धरौटीमा छाड्ने आदेश भएको थियो । रसियन सेनामा भर्ना भएका ती प्रहरी पछि भागेर नेपाल आई उजुरी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्