Logo
Logo

गृहमातहतका निकायको रणमैदान बन्दै विमानस्थल, गृहमन्त्री मूकदर्शक


252
Shares

काठमाडौं । गत शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गृहमन्त्रालय मातहतका दुई निकायबीच कुटाकुट भयो ।

विमानस्थलका अध्यागमन कार्यालयका कर्मचारी र विमानस्थल सुरक्षार्थ खटिएका प्रहरीबीच हात हालाहाल र लात हानाहान भयो । विमानस्थलजस्तो संवेदनशील ठाउँमा यात्रा व्यवस्थापन तथा नियमनमा खटिएका कर्मचारीबीच यो स्तरको झैझगडा भएपछि धेरैको ध्यान त्यसतर्फ केन्द्रित छ ।

सरकारले छानबिन समिति नै बनाएर घटनाको अध्ययन गरिरहेको छ । विवाद र कुटपिट भएको बेलाको ‘सिसिटिभी फुटेज’ पनि सार्वजनिक भइसकेको छ । त्यही दृश्यलाई हेरेर पक्ष÷विपक्षमा बहस चलिरहेको छ ।

घटनामा संलग्न दुवै पक्षले आ–आफ्नो कमजोरी भने स्विकारेका छैनन् । दुवै पक्ष एकअर्काविरुद्ध आमनेसामने भएका छन् । घटनामा संलग्न व्यक्तिहरू मात्र नभई उनीहरूसम्बद्ध संगठनहरू नै आ–आफ्नाको बचाउमा उभिएका छन् ।

अध्यागमन कर्मचारी र प्रहरीबीच कुटाकुट भएको घटना चेकजाँच गर्ने क्रममा सिर्जित विवादलाई कारण भनिएको छ । सार्वजनिक सिसिटिभी फुटेज हेर्दा पनि अध्यागमन अधिकृत छायालाल मोक्तानलाई ड्युटीमा खटिएका प्रहरीले चेकजाँच गर्न खोज्दा वादविवाद भइरहेको र त्यसपछि धकेलाधकेलबाट हातपातसम्म पुगेको देखिन्छ ।

अध्यागमनका कर्मचारीले प्रहरीले आफूमाथि हातपात गरेको बताएको छ भने प्रहरीले प्रतिरक्षा मात्रै गरेको दाबी गरेको छ । सार्वजनिक भिडियोमा भने अध्यागमन कर्मचारीले पनि हात हालेको र लात्ती हानेको देखिन्छ ।

दुवै पक्षबीच केही समयदेखि गम्भीर तिक्तता रहँदै आएको थियो । त्यही कारणले गर्दा शुक्रबार हात हालाहालको स्थिति सिर्जना भएको हो ।

तर, आफ्नै मातहतका दुई निकायबीच भएको आन्तरिक लफडामा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ भने मूकदर्शक बनेका छन् । दुवै निकायलाई बोलाएर सहजीकरण गर्नुपर्नेमा मुख्य दायित्व गृहमन्त्रीको हो । तर, उनी रमिते मात्र बनेका छन् ।

गृहमन्त्रीले कुनै प्रकारको अपनत्व नलिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृहमन्त्री श्रेष्ठसँग गत शनिबार बिहान छलफल गरेका थिए । त्यसक्रममा प्रधानमन्त्री प्रचण्डले दुवै निकाय गृहमातहतमा रहेकाले कुन समयमा कसको गल्ती भएको उसलाई जिम्मेवार बनाउने कारबाही गरी सहजीकरण गर्न गृहमन्त्रीलाई निर्देशन दिए ।

विमानस्थलजस्तो अति संवेदनशील क्षेत्रमा दुई निकायमा कार्यरत कर्मचारीहरूले आफ्नो दायित्व बिर्सेर हात हालाहाल भएपनि गृहमन्त्री श्रेष्ठ अहिलेसम्म मौन छन् । उनले प्रधानमन्त्रीको निर्देशन समेत नसुनेको जस्तो गरिरहेका छन् ।

विमानस्थलमा भएको घट्नालाई लिएर निजामती कर्मचारीहरूले प्रधानमन्त्री प्रचण्डलाई सुरक्षा निकायबाटै असुरक्षित भएको भन्दै गुनासो समेत गरेका छन् ।

मुख्यसचिव डा। वैकुण्ठ अर्यालले प्रधानमन्त्रीलाई गुनासो राख्दै कुनै एक कर्मचारी व्यक्तिगत रूपमा अटेर गरेको भए वा सुरक्षा जाँचमा अवरोध गरेको भए उसलाई विमानस्थलमा प्रवेश रोक लगाउनुपर्ने बताएका छन् ।

उनले विभागीय प्रमुखलाई भनेर कार्यस्थलमा अनुशासनमा राख्ने विधि विधान हुँदाहुँदै प्रहरीको टिम नै गएर कुटपिट गर्नु आपत्तिजनक मात्र नभइ असुरक्षित भएको समेत बताएका छन् ।

उनले अध्यागमनको तर्फबाट विमानस्थलमा कार्यरत रहेका सहसचिवमाथि हातपात गर्नु जस्ता घट्नाले प्रशासनिक तहमै अप्ठेरो परेको पनि गुनासो गरेका छन् ।

निजामती कर्मचारीहरूले प्रहरीको पछिल्लो गतिविधिले काम गर्न असजिलो बनेको भन्दै गुनासो गरिरहेका छन् । विमानस्थलमा प्रहरी र कर्मचारीबीच भएको लफडाले मुलुकको छविमा समेत असर परेको छ ।

अध्यागमन कार्यालयका अधिकृत मोक्तान प्रहरीको जाँच गर्ने घेराबाट यात्रु प्रतीक्षालयतिर जान खोजेपछि प्रहरी जवान गुप्ताले मोक्तानको शरीर जाँच गर्न खोजेपछि लफडा भएको थियो ।

अध्यागमन कर्मचारी र अध्यागमन प्रमुख गोगन हमालमाथि पनि प्रहरीले अभद्र व्यवहार गरेको सूचना विभाग हुँदै गृह मन्त्रालयसम्मै पुगेको छ । त्यहाँको अवस्था बुझ्नका लागि अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङ पनि विमानस्थलमै पुगेका थिए ।

शुक्रबारको घटनामा छानबिन गर्न गृह मन्त्रालयले सहसचिव थानेश्वर गौतमको नेतृत्वमा समिति बनाएको छ ।

तर यो एक दिनको र कुनै एकाध पात्रको विषयमा मात्र सीमित छैन । गृह प्रशासनको नेतृत्व सम्हालेर बसेका पदाधिकारी नै प्रस्ट नभएसम्म यो विषय यत्तिकै सेलाउने अवस्था पनि छैन ।

प्रतिक्रिया दिनुहोस्