
काठमाडौं । छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । मोरङको ग्रामथान गाउँपालिका–२ स्थित सडकमा ट्याक्टरको ठक्करबाट पैदलयात्री सोही गाउँपालिका–२ बस्ने १९ वर्षीय उपेश सरदारको बुधबार दिउँसो मृत्यु भएको हो ।
ठक्करबाट गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै कपिलवस्तुको महाराजगंज नगरपालिका–२ बर्गदास्थित सडकमा हाल नम्बर नखुलेको गाडीको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने नाईम तेली मुसलमानकी छोरी ७ वर्षीया तैहब्बा मुसलमानको बुधबार साँझ मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार गाडी चालकको प्रहरीले खोजी गरिरहेको छ । त्यसैगरी नवलपरासी पूर्वको गैंडाकोट नगरपालिका–६ माईली साईली चोकमा साईन बोर्डिङ स्कुलको भ्यानको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने शोभा थापा मगरको छोरा ५ वर्षीय स्वस्थी बाचेको बुधबार दिउँसो मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । भ्यान चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।














