जनकपुरधाम । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सल्लाह नै नगरी बोल्ने गरेको बताएका छन् ।
बिहीबार जनकपुरधाममा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले आफूसँग कुनै सल्लाह नै नगरी दरबार हत्याकाण्डको बारेमा प्रचण्डले बोलेको बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले केही दिनअघि सरकारले दरबार हत्याकाण्डको छानबिन गर्ने बताएका थिए । नेपाली कांग्रेसका तत्कालीन सभापति तथा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले दरबार हत्याकाण्डबारे बोल्दा आफूसँग सोध्ने गरेको अध्यक्ष नेपालको भनाइ छ ।

अध्यक्ष नेपालले भने, ‘प्रधानमन्त्री प्रचण्डजीले यस्ता विषयमा सल्लाह नगरी बोल्नुहुन्छ, मसँग नै सोधे पनि हुन्थ्यो नि, कमसेकम गिरिजाबाबुले मलाई सोध्ने गर्नुहुन्थ्यो, के गर्ने माधवबाबु भन्ने गर्नुहुन्थ्यो ।’
कुनैपनि विषयमा प्रधानमन्त्री प्रचण्ड अलि छिटो बोल्ने गरेको अध्यक्ष नेपालले टिप्प्णी गरे । अध्यक्ष नेपालले भने, ‘यस्ता कुराहरूका बारेमा अलि सरसल्लाह गरे राम्रो हुन्थ्यो । हामीसँग कुनै सल्लाह भएको छैन । हाम्रो प्रचण्डजी अलि छिटो बोल्ने गर्नुहुन्छ ।’
अध्यक्ष नेपालले राजतन्त्र मसान घाटको मुर्दा भइसकेको भन्दै अब राजतन्त्र फर्काउन नसक्ने तर्क गरे । उनले राजतन्त्र फर्काउन पनि नदिने बताए ।














