काठमाडौं । उद्योगी तथा व्यवसायी अरुण चौधरी प्रक्राउ परेको प्रति निजी क्षेत्रले आपत्ति जनाएको छ ।
नेपाल उद्योग परिसंघ (सीएनआई)ले बिहीबार आकस्मिक पत्रकार सम्मेलन गर्दै चौधरी नेपालको माटोमा हुर्किएका उद्यमी रहेको र उनी देश छाडेर कतै जान नलागेको भन्दै हठात पक्राउ गरिएको प्रतिक्रिया दिएको छ ।

सीएनआईले पक्राउअघि प्रहरीले कुनै सूचना नदिएको र अनुसन्धानका लागि समेत नबोलाएको बताएको छ । व्यवसायी मात्र नभएर सबै निजी क्षेत्र त्रसित हुने गरी धरपकड गरिएको निजी क्षेत्रको गुनासो छ ।
सीएनआई अध्यक्ष राजेश अग्रवालले भने– ‘यसले सम्पूर्ण उद्योगी–व्यवसायीको मानमर्दन भएको हामीले महसुस गरेका छौं ।’
आजको घटनाले सरकारले आर्थिक समृद्धिमा निजी क्षेत्रको उपदेयता उपेक्षा गरेको हो कि भन्ने सोच्न बाध्य तुल्याएको समेत निजी क्षेत्रको प्रतिक्रिया छ ।
उचित र पर्याप्त कारण भएको अवस्थामा बाहेक अभियुक्तलाई शंकाका भरमा वैयक्तिक स्वतन्त्रता हनन् हुने गरी पक्राउ गर्ने काम कुनै न्यायसंगत नभएको समेत सीएनआईको प्रतिक्रिया छ ।
कसुर प्रमाणित भए कारबाहीको भागिदार हुनुपर्छ भन्नेमा भने विमति नरहेको सीएनआईको भनाइ छ । तर, कसुर प्रमाणित नै नभई धरपकड गर्नु न्यायसंगत नभएको उनले बताए ।














