Logo
Logo

यौनिकताका आधारमा लाञ्छाना लगाउनेलाई राज्य विरुद्धको भेदभावमा कारबाही गर्न माग


252
Shares

काठमाडौं । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले आफूहरूमाथि लाञ्छना लगाउनेलाई जघन्य अपराधको कसुरमा कारबाही गर्नुपर्ने माग गरेका छन् । एसियाका पहिलो समलिङ्गी सभासद् एवं मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिलबाबु पन्तले यौनिकताका आधारमा लाञ्छना लगाउने जोकोहीलाई राज्य विरुद्धको भेदभावमा कडा कारबाही गर्नुपर्ने बताए ।

मायाको पहिचान नेपालले शिक्षा, स्वास्थ्य, रोजगार, वैवाहिक अधिकारमा समान पहुँच स्थापित गर्न बहस पैरवी गर्ने संस्था भएको पन्तको भनाइ छ । ‘समुदायका साथीहरूबाट महत्वपूर्ण सुझावहरू प्राप्त भएका छन्, यसले मायाको पहिचान नेपाललाई थप उत्साहित बनाएको छ’, उनले भने, ‘समुदायका साथीहरूसँगै हामी सरकारको नीति निर्माण, कानुन निर्माण, सरकारी र निजी क्षेत्रको रोजगारीमा जारी विभेद अन्त्य गर्न, शिक्षा, स्वास्थ्यमा समान पहुँच स्थापित गर्न हातेमालो गर्दै अगाडि बढ्नेछौ ।’
पन्तले समुदायको कानुनी अधिकार सुनिश्चित गर्दै जीविकोपार्जनका कार्यक्रममा लाग्नु पर्ने बताए ।

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकलाई समावेशी आरक्षणको व्यवस्था गर्न पन्तले माग गरे । ‘यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक भएको थाहा पाइसकेपछि कामबाट निकालिने अवस्था कहिलेसम्म ?’ पन्तले प्रश्न गर्दै भने, ‘समावेशी नीति बनाउनु पर्याे, यो समुदायका लागि आरक्षण नै हुनुपर्छ ।’

उनले लुम्बिनी प्रदेश सरकारले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका लागि १ प्रतिशत आरक्षणको व्यवस्था गर्नु सकारात्मक भएको बताउँदै सरकार र निजी क्षेत्रले हरेक ठाउँमा यो समुदायका व्यक्तिलाई आरक्षण दिनु पर्ने उल्लेख गरे ।
संविधानको धारा ४२ कार्यान्वयन गर्न पन्तले सरकारसँग आग्रह गरे । उनले नीति, नियम बनाउने ठाउँमा समुदायको प्रतिनिधित्व हुनै पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्