Logo
Logo

तीन महिनामा काकडभिट्टा नाकाबाट साढे ३ अर्ब बढी कृषि उत्पादन तथा जडिबुटी निर्यात


315
Shares

काठमाडौं । पछिल्लो तीन महिनामा पूर्वीनाका काकडभिट्टा हुँदै साढे तीन अर्ब रुपैयाँ भन्दा धेरैको कृषि, जडीबुटी तथा काष्ठ उत्पादन निर्यात भएको छ । गएको कात्तिकदेखि पुस मसान्तसम्म तीन अर्ब ६९ करोड पाँच लाख १२ हजार मूल्य बराबरका वस्तु निर्यात भएको हो ।

तीन महिनामा सबैभन्दा धेरै एक अर्ब ६६ करोड आठ लाख मूल्य बराबरको दुई हजार सात सय ६८ मेट्रिक टन चिया निर्यात भएको प्लान्ट क्वारेन्टिन कार्यालय काकडभिट्टाका सूचना अधिकारी चन्द्रेश्वर ठाकुरले जानकारी दिए । । उनका अनुसार ९८ करोड ९६ लाख मूल्य बराबरको एक हजार दुई सय ३७ मेट्रिक टन अलैँची निर्यात भएको छ । अम्लिसो, प्लाइउड र अदुवासमेत उल्लेख्य मात्रामा निर्यात भएको उनले जानकारी दिए ।

यस्तै बन्दाकोभी, मूला, मुसुरो दाल लगायतका कृषि उत्पादन पनि निर्यात भएका छन् । चालु आर्थिक वर्षको पहिलो तीन महिना अर्थात साउनदेखि असोज मसान्तसम्ममा काकडभिट्टा नाकाबाट पाँच अर्ब २७ करोड ३६ लाख २९ हजार मूल्य बराबरको नेपाली उत्पादन भारत, बङ्गलादेशलगायत देशमा निर्यात भएको थियो ।

पछिल्ला वर्षहरुका पूर्वी पहाडबाट कृषि उत्पादन तथा जडिबुटी निकासी हुने क्रम बढेको छ । चिया, अलैँची, अम्लिसो, अदुवा लगायतको खेती र उत्पादन बढेसँगै निर्यात पनि बढेको हो ।

प्रतिक्रिया दिनुहोस्