
काठमाडौं । नेकपा एमाले धादिङका अध्यक्ष भूमि त्रिपाठीले जिल्ला अधिवेशन स्थगित नभएको बताएका छन् । बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेलले अधिवेशन अनिश्चितकालका लागि स्थगित भएको विज्ञप्ति जारी गरेलगत्तै जिल्ला अध्यक्ष त्रिपाठीले पनि विज्ञप्ति निकालेर अधिवेशन स्थगित नभएको बताएका हुन् ।
उनले भनेका छन्, ‘केही अनाधिकृत उच्छृङ्खल व्यक्तिले अधिवेशनको थप कार्यक्रम स्थगित भएको भनी सामाजिक सन्जाल र मिडियामा फैmाएको भ्रमप्रति नेकपा एमाले धादिङको ध्यानाकर्षण भएको छ । बन्द सत्रको कार्यक्रम निरन्तर सन्चालन भइरहेको व्यहोरा अवगत गराउँदै सम्बन्धित सबैलाई यो भ्रममा नपर्न अनुरोध गर्दछु ।’ एमाले धादिङको नवौं जिल्ला अधिवेशन यहि माघ १९ गतेदेखि सुरु भएको थियो ।
सोही साँझ जिल्ला कमिटीको अन्तिम बैठकको बन्दसत्रमा प्रस्तुत गर्ने दस्ताबेज, नीतिगत निर्णय, बन्दसत्र सन्चालनका लागि आवश्यक अध्यक्ष मण्डल, विभिन्न समितिमा रहने नेताहरुको नाम र जिल्ला कमिटीबाट ५ प्रतिशतले मनोनयन हुने प्रतिनिधिका विषयमा विवाद बढ्दा कुटाकुट भएको थियो । यसै क्रममा पार्टी कार्यकर्ता सन्तोष खनालको हात समेत भाँचिएको छ ।















