
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले केन्द्रीय सचिवालयमा कार्यरत सहायक निर्देशक बन्दना शर्मालाई कारबाही गर्ने निर्णय गरेको छ । संघले शर्माले संस्थाको गोपनीयता भंग गरेको आरोप लगाउँदै कारबाहीको निर्णय गरेको हो ।
शनिबार अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) को तेस्रो अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको भर्चुअल बैठकले सहायक निर्देशक शर्माले आन्तरिक कुरा सार्वजनिक गरी संघको साख गिराएको आरोप लगाउँदै उनलाई ‘व्यवस्थापन गर्ने’ निर्णय गरेको हो ।
‘संघका आम सदस्यहरू तथा संस्थाका सबै कर्मचारीले चाहेको समयमा संस्थाका अध्यक्ष, महासचिवलगायत सबै पदाधिकारीहरूसँग प्रत्यक्ष सम्पर्क र संवादको वातावरण सधैँ खुला रहे पनि संघको ईमेल डेटाबेस दुरुपयोग गरी कर्मचारी प्रशासन नियमावलीविपरीत आफ्नो असान्दर्भिक व्यक्तिगत असन्तुष्टि सार्वजनिक गर्दै संघको साख गिराएको र संघको संवेदनशील विषयहरूमा आमसदस्यहरू, दाताहरूप्रति अपमान गरेको ठहर गर्दै उहाँको कार्यभारलाई कर्मचारी नियामावलीअनुसार व्यवस्थापन गर्ने निर्णय गरिएको छ,’ बैठकको निर्णयमा भनिएको छ ।
विश्वभर हुने विभिन्न सानाठूला राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलनमा ककटेल डिनरको आयोजना गर्ने प्रचलनअनुरूप संघले पनि स्थापनाकालदेखि विश्व सम्मेलनमा डिनर आयोजना गर्ने गरेको र त्यसमा संस्थाको पैसा नभई कार्यक्रम प्रायोजकको खर्च हुने गरेको उल्लेख गर्दै संघले शर्माले ईमेलमार्फत लगाएको आरोप झुटो भएको दाबी गरेको छ ।
संघले भनेको छ, ‘त्यसैगरी शर्माले ईमेलमार्फत भूकम्पपीडितको लागि राहत वितरण गर्न जाजरकोट र रुकुमपश्चिम जाँदा संस्थाको रकम खर्च भएको भन्ने भ्रामक सन्देश दिएर संस्थाको साख गिराउने काम गर्नुभएको देखिन्छ । राहत वितरणको क्रममा पदाधिकारीहरूले आफ्नो व्यक्गित खर्च स्वयं आफैँले बेहोर्नुभएको जानकारी गराइन्छ ।’
आईसीसी बैठकले शर्माले वर्तमान संस्थागत तरलताको फाइदा उठाउने मनसायले सचिवालयको ईमेल प्रयोग गरी पदीय जिम्मेवारी र मर्यादाभन्दा बाहिर गई संस्थाको गोपनीयतामा समेत ख्याल नगरेको निष्कर्ष निकालेको छ ।














