Logo
Logo

जबजलाई परित्याग गर्ने कुरा स्वीकार्य हुँदैन : माधव नेपाल



काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जनताको बहुदलीय जनवाद (जबज) परित्याग गर्ने कुरालाई किमार्थ स्वीकार गर्न नसकिने बताएका छन् ।

आइतबार पार्टीका उपाध्यक्ष एवम् कृषि मन्त्री वेदुराम भुसालको पुस्तक ‘जनताको बहुदलीय जनवादको विकासक्रम’ सार्वजनिक कार्यक्रममा उनले जनताको विश्वास जित्ने नाममा जबजको विचारलाई परित्याग नगरिने स्पष्ट पारे ।

उनले हिजो जनताको बहुदलीय जनवादलाई दक्ष प्रजापतिको टाउको भन्नेहरुले नै आज आएर त्यो विचारलाई समाप्त पार्ने षड्यन्त्र गरिरहेको आरोप लगाए ।

अध्यक्ष नेपालले जनताको विश्वास जितेर लोकप्रियता हासिल गर्ने कुरा नै जबजको मान्यता भएको भन्दै त्यसलाई अंगिकार गरेर नै आफूहरु अघि बढ्ने दोहोर्‍याए ।

उनले भने, ‘नेपालको बामपन्थी राजनीतिमा जबजको विषय अहिले पनि बहसको विषय बनेको छ कि जनताको बहुदलीय जनवादको सान्दर्भिकता छ कि छैन ? केही स्वनामधन्य व्यक्तिहरुले अब यो पुरानो भइसक्यो जनताको बहुदलीय जनवाद । यसको कुनै सान्दर्भिकता छैन भनेर घोषणा गरिरहेका छन् । जसले जनताको बहुदलीय जनवादको सारतत्व बुझेकै छैन, यसले ऐतिहासिक रुपमा खेलेको भुमिकालाई जसले बुझेको छैन, उसले यो पुरानो भयो, भनेर यसको सान्दर्भिकताका बारेमा बोल्न मिल्दैन । यदि कसैले बोल्छ भने उसले त्यही भन्ने हो ।’

उनले देश र जनतामा परिवर्तनको बाहक नै कम्युनिष्ट पार्टी हुन् भनेर पुष्टि गर्नुपर्ने बेला आएको बताए । उनले भने, ‘बहुदलीय प्रतिस्पर्धाको जुन नीति लिएर हामी अगाडि बढ्न खोजेका छौं । त्यसलाई हामीले नयाँ परिवेशमा अगाडि बढाएर लैजानुपर्छ । हिजो जनवादी क्रान्तिको त्यो समय थियो भने अब हामी समाजवादी क्रान्तिको चरणमा प्रवेश गरेका छौं । समाजवादी क्रान्तिको चरणमा पनि बहुदलीय प्रतिष्पर्धाको राजनीतिको त्यत्तिकै उपादेयता रहेको छ ।’

प्रतिक्रिया दिनुहोस्