
काठमाडौं । सिन्धुपाल्चोकमा एक गाडीले स्कुटर र मोटरसाइकलाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ । दुर्घटनामा अर्की एक युवतीसहित दुई जना घाइते भएका छन् ।
चौतारा साँगाचोकगडी नगरपालिका १० बलेफीमा बुधबार साँझ सुकुटेबाट काठमाडौँतर्फ आउँदैै गरेको बा १९ च ९१२३ नम्बरको योद्धा गाडीले स्कुटर र मोटरसाइकललाई एक साथ ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा स्कुटरमा सवार दोलखाको वैतेश्वर गाउँपालिका–६ नाम्दुका २० वर्षीय प्रज्वल तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका तामाङलाई उपचारका लागि धुलिखेल अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो ।
तामाङले चलाएको स्कुटीकै पछाडि बसेकी उदयपुरको गाईघाट घर भएकी २० वर्षीया निलु राई घाइते भएकी छन् । उनको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनामा मोटरसाइकल चालक सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका १ का ५२ वर्षीय थपबहादुर कार्की पनि घाइते भएका छन् । उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । दुर्घटनापछि योद्धा गाडी र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।














