चितवन । चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजनाको कार्यक्षेत्र बढे पनि बजेट बढ्न नसक्दा मागअनुसार काम गर्न कठिन भएको छ । आयोजनाले चितवनसहित छवटा जिल्ला हेर्ने भए पनि पर्याप्त बजेट नहुँदा मागअनुसारको काम हुन नसकेको हो ।

आयोजनाका प्रमुख देव कुमार स्याङ्वोका अनुसार चालु आर्थिक वर्षका लागि स्यालो ट्युबेलको एक हजारभन्दा बढी माग भएको छ ।
जसमा स्वीकृत कोटा १० वटामात्रै रहेको उहाँले जानकारी दिए । यस्तै डिपट्युबेल ५० भन्दा बढी माग भएकामा १३ वटाको मात्रै कार्यक्रम रहेको छ ।
स्याङ्वोले भने, ‘चालु आवबाट कार्यक्षेत्र थप गरिएको छ । तर बजेट बढ्न नसक्दा मागअनुसारको काम हुनसकेको छैन ।’ उनका अनुसार गत आवमा चितवन र मकवानपुर जिल्ला हेर्दै आएको यस आयोजनाले अहिले नवलपरासी (वर्दघाट–सुस्तापूर्व), बारा, पर्सा, रौतहट र सर्लाही कार्यक्षेत्र थप गरिएको हो ।
स्यालो ट्यबेलका लागि रु ५० लाख र डिपट्युबेलका लागि रु १० करोड बजेट रहेको आयोजना प्रमुख स्याङ्वोले जानकारी दिए ।
यस वर्ष चितवनमा १० र मकवानपुरमा तीनवटा मात्रै डिपट्युबेल निर्माण गर्ने योजना रहेको छ । आयोजनामा डिपट्युबेलको बोरिङ निर्माण मात्र तीन र पाइप लाइनसहितका सातवटा रहेको उनले जानकारी दिए । स्यालोट्युबेल चितवनमा निर्माण गरिने उनले बताए ।
स्यालो ट्युबेलले चार बिघा र डिपट्युबेलले ४० बिघा क्षेत्रफल सिँचाइ हुने गरेको छ । गत वर्ष आयोजनामा रु ४० करोड बजेट विनियोजन गरिएको थियो । जसबाट एक सय ६० स्यालो ट्युबेल र ३५ डिपट्युबेल जडान गरिएको थियो ।














