Logo
Logo

लण्डन भागेका सुमेरुका महर्जन उतै भूमिगत



काठमाडौं । सर्वसाधारणको १० अर्बभन्दा बढी रकम हिनामिना गरि बेलायत फरार भएका सुमेरु सेभिङ एण्ड को–अपरेटिभका पूर्वअध्यक्ष भरत महर्जनविरुद्ध सिआइबीले खोजवीन गरेपनि अहिलेसम्म फेला पार्न सकेको छैन ।

सर्वसाधारण पीडित बचतकर्ताको जाहेरीको आधारमा सिआइबीले छानबिन थालेको पनि लामो समय भएको छ तर पनि फेला पार्न सकेको छैन । पूर्वअध्यक्ष महर्जन संयुक्त अधिराज्य बेलायतमा पुगेपछि नेपाल ल्याउन नसकेको अवस्थामा उनलाई फरार भन्नुपरेको सिआइबीका एक अधिकारीले दृष्टिसँग भने । उनले आफूले अर्बौं रकम हिनामिना गरेपछि समस्याग्रस्त बनेको सहकारी अर्कै व्यक्तिलाई जिम्मा लगाएर फरार भएका थिए । महर्जन फरार भएपछि सुमेरु सहकारीका हजारौं व्यक्ति रुनु न हाँस्नुको अवस्थामा छन् ।

सर्वसाधरणले २ अर्बभन्दा बढी बचत रकम फिर्ता मागेपछि उनी बेलायत फरार भएका थिए । उनले आफ्नै कार्यकालका महासचिव समेत रहेका हेमराज दाहाललाई सहकारीको अध्यक्ष बनाएका थिए । बेलायत पुगेका उनी छोरी र परिवार सबैसहित बस्दै आएका छन् ।

विश्वका ठूला घोटालामा संलग्नहरु बेलायत लुक्ने गरेकाले उनीपनि आफू सुरक्षित हुने विश्वासमा बेलायत लुकेका हुन् । उनलाई नेपाल फिर्ता ल्याउने र छानबीन गर्ने प्रहरीको प्रयास कठिन हुने देखिएको छ । किनभने, बेलायतबाट कुनै पनि अपराधमा संलग्न व्यक्तिलाई नेपाल ल्याउन सजिलो छैन ।

बेलायतस्थित अदालतबाट अनुमति लिएर मात्रै नेपाल ल्याउने प्रक्रिया गर्नुपर्ने हुन्छ । विश्वको तेस्रो विश्वशक्तिको रुपमा उदाउँदै गरेको छिमेकी मुलुक भारत सरकारले समेत विभिन्न अपराधमा बेलायतको लण्डन पुगेका ठूला धनाड्यलाई आफ्नो मुलुक ल्याउन सकेको छैन ।

ती व्यक्तिविरुद्ध विभिन्न समयमा वारेन्ट आउँदासमेत कुनै कारबाही गर्न भारतले सकेको छैन । भारतीय क्रिकेट लिग आइपीएलमा म्याच फिक्सिङ गरेकोलगायत दर्जनौँ अपराधमा मुछिएका आइपिएलका तत्कालीन प्रमुख ललित मोदी वर्षौँदेखि बेलायतमा लुकेर बसेका छन् । उनलाई पक्राउ गरेर भारत ल्याउन भारत सरकारले कोसिस गरेपनि हालसम्म सफल हुनसकेको छैन ।

त्यस्तै १७ वटा बैंकको ७ हजार ८ सय करोड ऋण लिएर टाप कसेका भारतीय व्यापारी विजय माल्या पनि बेलायतमै छन् । महर्जन पनि यही तथ्यलाई मनन गर्दै उतै लुकेर बसेको एक प्रहरीले बताए ।

यसैगरी ललितपुरमा रहेको अर्को सहकारी संस्थामा मालिक फरार भएका छन् । बचतकर्ताहरूको १ अर्ब ७० करोडभन्दा बढी बचत हिनामिना गरेर एक सहकारी सञ्चालक फरार भएका छन् । ललितपुरको कुमारीपाटीमा रहेको कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष तेजविक्रम थापा बचत रकम हिनामिना गरेर फरार भएका हुन् ।

करिब ५०० जना बचतकर्ताले दुई वर्षदेखि बचत गरेको उक्त रकमको सावा तथा ब्याज समेत नदिई अपचलन गरी फरार भएका हुन् । उनीसँगै उनकी श्रीमतीसमेत रहेकी सहकारीकी व्यवस्थापक सन्जना राजकर्णिकारसमेत फरार भएकी छन् ।

उनीहरूका विरुद्धमा बचतकर्ताहरूले जिल्ला प्रहरी परिसर ललितपुरमा उजुरी दिएका थिए । त्यसपछि दुवै जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला प्रहरी परिसर ललितपुरका एक अधिकारीले दुवै जनाविरुद्ध पक्राउ पुर्जी जारी भएर खोजी कार्य भइरहेको बताए । बचतकर्ताहरूले उनीहरू दुवै जनासँग सञ्चालक तथा कर्मचारीहरूविरुद्ध समेत उजुरी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्