Logo
Logo

एसिसी महिला प्रिमियर कप : कुवेतलाई हराउँदै नेपाल सेमिफाइनलमा


1.2k
Shares

काठमाडौं । नेपाल एसिसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । मलेसियाको बांगीमा बुधबार भएको क्वाटरफाइनलमा कुवेतलाई ८ विकेटले हराउँदै नेपाल अन्तिम चारमा प्रवेश गरेको हो ।

कुवेतले दिएको ५० रनको संशोधित लक्ष्य नेपालले ६ ओभर ५ बलमा २ विकेट गुमाउँदै पूरा गरेको हो। टस जितेर पहिला ब्याटिङ गरेको कुवेतले निर्धारित २० ओभरमा ७३ रन बनाएको थियो ।

वर्षाका कारण खेल प्रभावित भएपछि नेपाललाई १२ ओभरमा ५० रनको संशोधित लक्ष्य दिइएको हो । नेपालका लागि सिता राना मगरले १७ रन बनाइन् भने कविता कुँवर एक रनमा रनआउट भए । कप्तान इन्दु वर्मा २२ र कविता जोशी ४ रनमा अविजित रहे ।

कुवेतका लागि प्रियादा मुरलीले सर्वाधिक २९ रनको योगदान गरे । शान्थि बालासुब्रमनियन र खादिजा खलिले समान १३÷१३ रन जोडे । तीन खेलाडी शून्यमा आउट हुँदा अरूले दोहोरो अंकको रन बनाउन सकेनन् ।

कुवेतलाई सस्तैमा समेट्ने क्रममा सिता राना मगरले ह्याट्रिक विकेट दिए । रुबिना क्षेत्री र कविता कुँवरले २÷२ विकेट लिए ।

नेपालले अब फाइनल प्रवेशका लागि मलेसियासँग प्रतिस्पर्धा गर्नेछ । बुधबारै भएको क्वाटरफाइनलमा मलेसियाले जापानलाई १६ रनले पराजित गर्दै नेपालसँगको भेट पक्का गरेको हो ।

प्रतिक्रिया दिनुहोस्